लगानी सम्मेलनमा ३९ खर्बका परियोजना

काठमाडौं । दुई वर्षअघि आयोजित लगानी सम्मेलनमा विभिन्न १६ क्षेत्रमा  १४ खर्ब ४७ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता आएको थियो । ‘नेपाल इन्भेस्टमेन्ट समिट २०१७’मा सहभागी लगानीकर्ताले जलविद्युत्, कृषि, विमानस्थललगायत क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता देखाएका थिए ।

सरकारले सो सम्मेलनमा कम्तीमा १ खर्ब रुपैयाँको लगानी प्रतिबद्धता आउने लक्ष्य लिएको थियो । लक्ष्यको ११÷१२ गुणा बढी लगानी प्रतिबद्धता आएको थियो । तर, सम्मेलनमा गरिएको प्रतिबद्धतामध्ये १ खर्ब ७२ अर्ब रुपैयाँको मात्रै थप प्रक्रिया अघि बढेको छ । सम्मेलनमा प्रतिबद्धता गरेमध्ये गेजुवा ग्रुप पावर इन्भेस्टमेन्ट नेपाल प्रालिको १ खर्ब ५० अर्ब र डोल्मा फन्डको २२ अर्ब रुपैयाँको लगानी सम्बन्धमा मात्र थप प्रक्रिया अघि बढेको हो ।

अघिल्लो सम्मेलनपछि भएको प्रयासस्वरूप नेपालमा झन्डै ४ खर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी आउने प्रक्रियामा रहेको लगानी बोर्डले जनाएको छ । सिचुआन वाङपिङ इनर्जी, गेजुवा ग्रुप, चाइना हार्बर, डोल्मा फन्ड, ह्वासिन सिमेन्टजस्ता कम्पनीको झन्डै ३ खर्ब १२ अर्ब लगानी नेपाल आउने २५% प्रक्रिया पूरा भएको बोर्डले जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।