विद्रोहको मुडमा छैन रोल्पा

रोल्पा । सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै आशंका र भयमिश्रित प्रश्न उठ्यो– के यो अर्को द्वन्द्वको विजारोपण हो ? सामाजिक सञ्जाल, चिया पसल, मिडिया सर्वत्र उठेको यो प्रश्नले कुनै बखत माओवादी विद्रोहको केन्द्र मध्यपश्चिमी जिल्ला रोल्पालाई नछुुने कुरै भएन।

सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने घोषणा गरेलगत्तै गरिएको रोल्पा भ्रमणमा हामीले त्यहाँका जनताको मनस्थिति बुझ्ने प्रयास गर्‍यौं। स्थानीयलाई सोध्यौं, ‘के फेरि रोल्पामा माओवादीले गरेजस्तै विद्रोह विप्लव नेतृत्वको नेकपाले गर्न सक्ला ?’

सदरमुकाम लिवाङ, घर्तीगाउँ, इरिवाङ, कोर्चावाङ, कुरेली, मिरुल, थवाङ, तिला, होलेरी आदि गाउँमा भेटिएका अधिकांश मानिस त्यो तहको द्वन्द्व होला भन्ने ठान्दैनन्। तर दैनिक जीवन बिथोलिने गरी समाज हिंसामै फर्किने हो कि भनेर त्रसित भने छन्। माडी गाउँपालिका कोर्चावाङ, मिनहीमा होटल व्यवसाय गरिरहेकी भीमा पुनले दिएको प्रतिक्रियामा यस्तै त्रास भेटिन्छ। ‘हिजो द्वन्द्वका बेला माओवादीलाई पालियो कर तिरियो, अब विप्लवलाई तिर्नुपर्ला’, उनी भन्छिन्, ‘विप्लवले जनतालाई पेल्ने हो, पुलिसले पनि माओवादी पाल्यो भनेर हामीलाई नै पेल्ने त हो।’ आजको नागरिक दैनिकमा खबर छ ।