गैंडालाई न घाँस न घोल

चितवन । एकसिंगे गैंडाको मुख्य आश्रय चितवन निकुञ्जको क्षेत्रफल ९५२.६३ वर्ग किलोमिटर छ । निकुञ्जबाहिर थप ७२९.३७ वर्ग किमि मध्यवर्ती क्षेत्र छ । निकुञ्जभित्र गैंडाको मुख्य बासस्थान २५ प्रतिशत मात्र छ । त्यसमा पनि बर्सेनि दुई प्रतिशतका दरले बासस्थान विनाश भइरहेको छ ।

बासस्थान खुम्चँदा गैंडा आहार (घाँसेमैदान) र बासस्थान (घोल र पानी) को खोजी गर्दै ‘कोर एरिया’ बाट मध्यवर्ती क्षेत्रमा आउने गरेका छन् ।

गैंडामा विद्यावारिधि गरेका शान्तराज ज्ञवाली र नरेश सुवेदी, वन्यजन्तुमै विद्यावारिधि गरिरहेका बाबुराम लामिछाने, जुलोजिक सोसाइटी अफ लन्डन, बेलायतका राजन अमिन र ‘वाइल्डलाइफ इन्स्टिच्युट अफ इन्डिया’ का यादभेन्द्रदेभ भी झालाको ७ वर्षे अध्ययनले गैंडाको मुख्य चुनौती बासस्थान विनाशलाई ठहर गरेको छ । आहार र बासस्थानको खोजी गर्दै मध्यवर्ती क्षेत्रमा आएका गैंडा खाल्डो, दलदल, सेप्टिक ट्यांकी र विद्युतीय तारमा परेर मरिरहेका छन् ।

आहारमा प्रतिस्पर्धाका लागि हुने द्वन्द्व, समागम बेलाको जुधाइ र बूढो भएर पनि गैंडा मरिरहेका छन् । विज्ञ ज्ञवाली आहार र बासस्थानमा आएको अभाव र फेरबदलको असर गैंडाको जीवनचक्रमा परेको बताउँछन् । ‘हिजो गैंडा चर्ने ठाउँमा अहिले घाँस छैन । पानीका घोल, तालतलैयासमेत सुकेका छन् । गैंडा उपयुक्त बासस्थान खोज्दै कोर एरियाबाट बाहिरिन बाध्य छन्,’ ज्ञवालीले भने । आजको कान्तिपुर दैनिकमा खबर छ ।