चिटकै भरमा एसईई

जनकपुर । विद्यार्थीलाई चिट दिन परीक्षा निरीक्षककै सक्रियता देखिएको छ । परीक्षा अमर्यादित बनाएको भन्दै सप्तरीबाट सोमबार मात्रै ५ निरीक्षक निष्कासनमा परे । सर्लाहीको लालबन्दी केन्द्रबाट पनि एक निरीक्षक निष्कासित भए । चिट बोकेर केन्द्रमै पुग्ने अभिभावकको भीड भने अघिल्ला वर्षको तुलनामा कमी छ ।

प्रदेश २ का ८ जिल्लाबाट ७२ हजार ४९ विद्यार्थी यस वर्षको एसईईमा सहभागी छन् । धनुषामा सबभन्दा बढी ११ हजार १ सय ८८ विद्यार्थी सहभागी छन् । धनुषाको फुलगामामा रहेको गिरिजा मावि केन्द्रमा सरकारी अनुगमन टोली पुग्दा अनौठो दृश्य देखियो । परीक्षार्थी बेन्चमै गेसपेपर राखेर उत्तरपुस्तिमा सार्दै थिए । परीक्षा कोठाबाट सुरक्षाकर्मीले चिटको चाङ बरामद गरे । सबैजसो परीक्षार्थीले लुकाएको चिट खोस्दा थुप्रो लाग्यो ।

उत्तरपुस्तिकासँगै चिट लुकाएको, गेस पेपर लुकाएको भेटिएपछि राष्ट्रिय अनुसन्धानका धनुषा प्रमुख दिलीप सिंहले परीक्षार्थीको तलासी गर्दा गुप्तांगमा लुकाइएको गेस पेपर, गाइड, पकेट बुक फेला परेको थियो ।

अनुगमनका लागि जिल्लाबाट टोली आएको भन्दै परीक्षार्थीलाई निरीक्षकले सतर्क गराएका थिए । परीक्षार्थीले गेसपेपर, गाइड, उत्तर लेखिएका पाना हतारमा लुकाएका थिए । झ्याल, बेन्च र गुप्तांगमा लुकाएको चिट प्रहरीले खोसे । परीक्षार्थीले पक्राउ पर्ने डरले झ्याल बाहिर फालेका गेसपेपर र गाइड सशस्त्र प्रहरी उपरीक्षक राजु पाण्डेले फेला पारेपछि परीक्षा निरीक्षकहरूले नाक खुम्च्याए । आजको कान्तिपुर दैनिकमा खबर छ ।