एक महिनामै ४ करोड निकासा : रकमान्तर गरेर मन्त्री र पिएलाई तलब

काठमाडौं । अर्थ मन्त्रालयले १२ मन्त्री र तिनका स्वकीय सचिवालयमा कार्यतरत स्वकीय सचिव तथा सचिवालयमा कार्यरत कर्मचारी(आफन्त) हरूलाई तलब दिन फागुनमा मात्र करिब ४ करोड रुपैयाँ निकासा गरेको छ। अर्थले मन्त्री र तिनका स्वकीय सचिवालयमा कार्यरत कर्मचारीरूका लागि ३ करोड ७२ लाख रुपैयाँ निकासा गरेको हो।

मन्त्री र तिनको स्वकीय सचिवहरुलाई तलव खुवाउने पैसा नभएपछि अर्थ मन्त्रालयले अर्को शीर्षको पैसा रकमान्तर गरेर निकासा गरेको मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले मन्त्रीको स्वकीय सचिवालयमा कार्यरत कर्मचारीहरूका लागि रकमान्तर निकासा गर्ने प्रक्रिया नियमति प्रक्रिया अन्तर्गत रहेको बताउँदै भने, ‘सचिवलायमा कार्यरत कर्मचारीहरूका लागि तलव दिन अपुग भए रकमान्तर गर्नेे गरिन्छ। जुन नियमित प्रक्रिया हो।’

मन्त्रालयका अनुसार सबैभन्दा बढी रकम उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको सचिवालयका लागि रकमान्तर गरिएको छ। मन्त्रालयका अनुसार स्वास्थ्य मन्त्रालयका लगि ६३लाख ५३ हजार ७सय ४ रुपैयाँ निकासा गरिएको छ। स्वास्थ्य मन्त्रालयपछि संस्कृति तथा पर्यटन मन्त्रालयमा पर्यटन राज्यमन्त्री धनबहादुर बुढाको स्वकीय सचिवालयमा कार्यरत कर्मचारीलाई तबल दिन निकासा गरिएको छ। पर्यटन राज्य मन्त्रालयकोलागि मात्र ४५लाख ९५ हजार १सय ७४ रुपैयाँ निकासा गरिएको छ। आजको नागरिक दैनिकमा खबर छ ।