कोलकाताको लगातार दोस्रो जित

एजेन्सी  । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा कोलकाता नाइट राइडर्सले लगातार दोस्रो जित निकोलेको छ । बुधबार राती भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई २८ रनले पराजित गर्दै कोलकाताले लगातार दोस्रो जित निकालेको हो ।

कोलकाताले दिएको २ सय १९ रनको पट्याएको पन्जाबले पुरै २० ओभरमा ४ विकेट गुमाएर मात्र १ सय ९० रन बनाउन सक्यो । पन्जाबका लागि मायांक अग्रवालले ५८ रनको अर्धशतकीय पारी खेलेपनि टोलीलाई जित दिलाउन भने सकेनन् । त्यस्तै डेभिड मिल्लरले अविजित ४३ रन बनाए । क्रिस गेल २० रनमा पेभिलियन फर्किएका थिए ।

कोलकाताका लागि आन्द्रे रुसेलले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो । कोलकाताका लागि विशाल योगफल तयार गर्न नितिश राना र रोबिन उथप्पाले अर्धशतकीय पारी खेले । रोबिन ६७ रनमा अविजित रहदा नितिशले ६३ रनको योगदान दिए । यस्तै आन्द्रे रुसलले ४८ तथा सुनिल नारिनेले २४ रन बनाए ।

पन्जाबका मोहमद सामी, भरुण चक्रवर्ती, हार्डुस भिल्जोइन र एन्ड्रयु जेम्सले एक एक विकेट लिए । पहिलो खेलमा कोलकाताले सनराईजर्स हैदरावादलाई ६ विकेटले पराजित गरेकोे थियो । पन्जाबको यो पहिलो हार हो । पहिलो खेलमा पन्जाबले राजस्थान रोयल्सलाई १४ रनले पराजित गरेको थियो ।