नेपाल–भारत सम्बन्धबारे प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिवको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको औपचारिक भ्रमणमा आएका भारतका विदेश सचिव विजय गोख्लेले ओलीको सरकारी निवास बालुवाटारमा आज दिउँसो शिष्टाचार भेट गरेका छन् ।

भेटका अवसरमा उनीहरुबीच नेपाल–भारत सम्बन्धका बारेमा छलफल भयो । उनीहरुबीच द्वीवक्षीय व्यापारबारे पनि विमर्श भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले जनाएका छन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग पनि भारतीय विदेश सचिव गोख्लेले भेट गरेका छन् । भेटमा पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसअघि नेपाल र भारतका परराष्ट्र सचिवको नेतृत्वमा द्विपक्षीय वार्ता भएको थियो । वार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै भारतको सहयोगमा नेपालमा जारी कृषि, सम्पर्क विस्तार, रेल तथा जलमार्ग र अन्य भौतिक पूर्वाधार परियोजनाको कार्यान्वयनको स्थितिको समीक्षा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।