आइतबारदेखि कालिमाटीबाट सेवा प्रदान गर्दै रक्तसञ्चार सेवा कार्यालय

 केही दिन बालकुमारीबाट पनि सेवा सुरुचारु हुने

काठमाडौं । २०७२ को शक्तिशाली भूकम्पपछि प्रदर्शनीमार्ग रहेको रक्तसञ्चार सेवा केन्द्र ललितपुरको बालकुमारीबाट सञ्चालन हुँदै आएको थियो । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाका सम्पूर्ण सेवा गतिविधि चैत्र १७ गते अर्थात आईतबारदेखि सोसाइटीको कालीमाटीस्थित रेडक्रमार्गको केन्द्रीय कार्यालय परिसरबाट सञ्चालन हुने भएको छ । नयाँ बनेको भवनबाट सेवा सञ्चालन हुन लागेको हो । यद्यपि केही दिन बालकुमारीबाट पनि सेवा सुचारु रहने छ ।

भूकम्पबाट भृकुटीमण्डपस्थित केन्द्रीय रक्तसञ्चार सेवाको भवनमा क्षति पुगेपछि २०७२ पौषदेखि आपत्कालीन सेवा केन्द्र बालकुमारी, ललितपुरबाट सेवा सञ्चालन हुँदै आएको थियो । ‘सेवाकेन्द्रबाट हुँदै आएका स्वयंसेवी रक्तदाताबाट संकलन गरिएको रगतको परिक्षण र भण्डारन गर्ने र विरामीहरुको लागि आवश्यक रगतको प्रकार खुलेको चिकित्सकको पूर्जा लिईआएका सेवाग्राहीलाई रगत उपलव्ध गराउने काम चैत १७ गते आइतबारदेखि रेडक्रसको केन्द्रीय कार्याल परिसरमा बनेको नयाँ सेवा भवन कालिमाटीबाट नै हुनेछ,’ नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले भने, ‘यसबाहेक दाता व्यक्ति, संस्थाहरुबाट रक्तसंकलनको समन्वय, रक्तसंकलनको लागि उत्प्रेरणात्मक गतिविधि तथा देशभर रहेका नेरेसोका रक्त सञ्चार सेवा केन्द्र तथा एकाइहरूको समन्वय तथा सहयोग लगायतको कामहरु पनि अवदेखि यहीँबाटै हुनेछ ।’

७३ जिल्लाका रेडक्रसका १०८ स्थानमा सेवा केन्द्र रहेका छन् । सरेकोबारे सेवाग्राहीहरुलाई समयमै थाह दिन विभिन्न उपायहरु अपनाइएको पनि पौडेलले बताए । विभिन्न सञ्चारमाध्यमसंगको अन्तरक्रिया, दाता संस्था तथा अस्पतालहरु र रक्तसञ्चारसम्बन्धी संघसँस्थालाई पत्राचार, नेपाल रेडक्रसको फेसबुक, ट्वीटर जस्ता सञ्जालमार्फत् प्रेषण र सार्वजनिक बोर्डहरुको व्यवस्था जस्ता उपायहरु अपनाइएको रक्तसञ्चार सेवा केन्द्रका निर्देशक पवन गुप्ताले भने ।

अर्का निर्देशक मनिताराज कर्णिकारले ललितपुरको बालकुमारीबाट सेवा दिने क्रममा स्थान अभाव भई साँगुरो भएको, धेरै सेवाग्राहीलाई यातायात सेवाको दृष्टिले अपायक परेको गुनासो आइरहेकोमा थाइ रेडक्रसको सहायोगमा निर्माण भएको नयाँ भवनमा धेरै सेवाग्राहीलाई पायक पर्ने र सेवा दिन सहज हुने अवस्था रहेको बताइन् ।

भूकम्पले क्षति पुर्याएको भृकुटीमण्डपमा भवन निर्मांणकार्य भइरहेको छ । बनिरहेको अत्याधुनिक भवनको निर्माण सम्पन्न भएपछि त्यहिँबाट सेवा सुरुहुने जानकारी नेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले दिए । ढकालले रक्तसञ्चार सेवा प्रदान गर्दा रगतको माग र आपूर्तिलाई सन्तुलन गर्न नेपाल रेडक्रस सोसाइटी लागिपरेको बताए । उनले रक्तदानमा सचेतना बढाउन आवश्यक रहेको भन्दै विभिन्न संस्था, अस्पतालसँग त्यसका लागि रेडक्रसले सहकार्य गरिरहेको जनाकारी दिए ।

रेडक्रसले देशभर वर्षमा ३ लाख ४४ हजार पिन्ट रगत वितरण गर्दै आएको छ । देशभर दैनिक औषत नौदेखि १२ सय पिन्ट रगतको माग हुने गरेको निर्देशक ढकालले जानकारी दिए । उनले राजधानीमा मात्रै दैनिक कम्तिमा तीनसय पिन्ट रगत माग हुने गरेका बताउँदै भने, ‘विश्व स्वास्थ्य संगतठनका अनुसर कुनै पनि देशको रगतको मागलाई सम्बोधन गर्न त्यस देशको दुई प्रतिशत जनताले रक्तदान गरेकै हुनुपर्छ ।’ २०२३ साल साउन १२ गते नेपाल रेडक्रस रक्त सञ्चार सेवा केन्द्रको सुरुवात भएको हो ।