वर्तमान सरकार आएपछि बलात्कार बढ्योः सभापति देउवा

गुल्मी । पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार आएपछि देशमा हत्या, हिंसा र बलात्कारका घटना बढेको बताए ।

नेपाली कांग्रेस गुल्मीले शनिबार सदरमुकाम तम्घारमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले भने, ‘सरकार सेनालाई पनि आफ्नो नियन्त्रणमा राखेर एकदलीय अधिनायकवादी शासन सञ्चालन गर्ने दिशामा उन्मुख छ ।’

नेपाली काङ्ग्रेस गुल्मीको प्रथम जिल्ला सम्मेलनमा पार्टी सभापति देउवाले उक्त विचार व्यक्त गरेका हुन् । जनतालाई शुसासन दिइ उनीहरुको आर्थिकस्तर माथि उकास्नुको साटो वर्तमान सरकार जनतालाई कर बढाएर थला पारिरहेको बताए ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार सङ्घीयता र संविधानको विरुद्धमा गएको आरोप लगाए । उनले वर्तमान सरकार राष्ट्रवादको भ-याङ चढेर अधिनायकवादको शिखरमा चढ्ने रणनीतिमा रहेको टिप्पणी गरे । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइराला, सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्य एनपी साउल, चन्द्र भण्डारी लगायतका केन्द्रीय नेताहरुले सरकारको आलोचना गरेका थिए ।

नेता एनपी साउदले वर्तमान सरकार यो या त्यो नाममा जनता तर्साउनमा लागेको दावी गरे । उनले भने, ‘एकातिर हत्या, सिंसा, बलात्कार बढेको छ । अर्कोतिर करको दायरा बढाएर गरिखाने वातावरण समाप्त पारिँदैछ । पछिल्लो समय आएर सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीमाथि प्रतिबन्ध लगाएर थप त्रासको वातावरण सिर्जना गरेको छ ।