बालकुमारीको ब्लड बैंक कालिमाटी सर्यो

काठमाडौं । ०७२ को भूकम्पपछि ललितपुरको बालकुमारीबाट सेवा सञ्चालन गर्दै आएको नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा (ब्लड बैंक) आइतबारदेखि कालिमाटी सरेको छ । ब्लड बैंकका सम्पूर्ण सेवा आजदेखि रेडक्रसमार्गर्ग्स्थित रेडक्रसको केन्द्रीय कार्यालय परिसरबाट सुरु गरिएको हो ।

भूकम्पका कारण भृकुटीमण्डपस्थित केन्द्रीय रक्तसञ्चार सेवाको भवनमा क्षति पुगेपछि २०७२ पुसदेखि आपत्कालीन सेवा केन्द्र ललितपुरको बालकुमारीबाट सेवा सञ्चालन हुँदै आएको थियो ।

‘सेवाकेन्द्रबाट हुदै आएका स्वयंसेवी रक्तदाताहरुबाट संकलन गरिएको रगतको परिक्षण र भण्डारन गर्ने र विरामीहरुको लागि आवश्यक रगतको प्रकार खुलेको कागज लिइआएका सेवाग्राहीलाई रगत उपलब्ध गराउने काम आजदेखि नयाँ सेवा भवन कालिमाटीबाट सुरु भएको छ,’ नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए । देशभरका विभिन्न ७३ जिल्लाका १०८ स्थानमा रहेका नेरेसोका रक्त सञ्चार सेवा केन्द्र तथा एकाइहरूको समन्वय तथा सहयोग लगायतको कामहरु पनि अबदेखि यहीँबाट सुचारु हुने उनले बताए ।

रक्तसञ्चार सेवा केन्द्रका निर्देशक मनिताराज कर्णिकारले ललितपुरको बालकुमारीबाट सेवा दिन स्थान अभाव भएको, सेवाग्राहीलाई यातायातमा समस्या देखिएकाले थाई रेडक्रसको सहयोगमा निर्माण भएको कालिमाटीस्थित नयाँ भवनबाट आजदेखि सेवा सुरु गरिएको बताइन् ।

भूकम्पले क्षति बनाएको भृकुटीमण्डपमा भवन निर्मांणकार्य भइरहेको छ । अत्याधुनिक उक्त भवन निर्माण सम्पन्न भएपछि त्यहिँबाट सेवा सुरुहुने जानकारी नेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले दिए । २०२३ साल साउन १२ गते नेपाल रेडक्रस रक्त सञ्चार सेवा केन्द्रको सञ्चालन भएको हो ।