हुरीबतास प्रभावित जिल्लामा रेडक्रसको आपत्कालिन सेवा

काठमाडौं । बारा र पर्सा जिल्लामा नेपाल रेडक्रस सोसाइटीले हावाहुरी प्रतिकार्यका लागि आपत्कालिन कार्यसञ्चालन केन्द्रलाई विहान ९ बजेदेखि सक्रिय बनाएको छ । सोमबार विहान रेडक्रसका केन्द्रीय अध्यक्ष संजीव थापाको संयोजकत्वमा बसेको आकस्मिक वैठकले आपत्कालिन कार्यसञ्चालन केन्द्रलाई सक्रिय बनाउने निर्णय गरको हो ।

केन्द्रवाट वारा र पर्सा जिल्लाहरुमा स्वयंसेवक परिचालन तथा तयारी खाना वितरणका लागि सहयोग स्वरुप तत्कालै एकलाख २५ हजार नगद पठाउने निर्णय भएको विपद् व्यवस्थापन निर्देशक मोना अर्यालले जानकारी दिइन् । उनले भनिन्, ‘गैह्रखाद्य सामग्री वितरणका लागि वीरगंज गोदामघरबाट तत्काल वारा जिल्लामा २०० सेट सामाग्री पठाइएको छ । यसबाहेक मनोसामाजिक सहयोगका लागि प्रभावित क्षेत्रहरुमा आवश्कताका आधारमा तालिम प्राप्त जनशक्तिको परिचालन व्यवस्था मिलाइने छ ।’

दैनिक प्रतिवेदन तयार गर्ने, जिल्लाबाट अवस्थाको विवरण संकलन गर्ने, राष्ट्रिय प्रतिकार्य टोली खटाउन समन्वय गर्ने, गृहमन्त्रालय र अन्य सरोकारवाला निकायसँग समन्वय गर्ने, क्षतिग्रस्त स्थलमा जाने टोलीहरु पहिचान गरिएको र उनीहरुले काम सुरु गरिसकेको नेरेसोका सञ्चार निर्देशक दिव्य राज पौडेलले जानकारी दिए ।

वढी क्षतिग्रस्त बारा जिल्लामा जिल्ला शाखालाई थप सहयोग, समन्वय र लेखाजोखाका लागि केन्द्रीय कार्यालयबाट वरिष्ठ अधिकृत राजेन्द्र रोकाहा र बाराबाट जिल्लाबाट सुनरमन महत्तोलाई परिचालन गरिएको छ । पर्सामा वरिष्ठ अधिकृत सन्तोष न्यौपाने र उमेश मिश्रलाई खटाइएको छ ।

सम्पूर्ण व्यवस्थापन र थप निर्णय आवश्यक परेमा नेरेसो तयारी अवस्थामा रहेको जानकारी दिदै कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले भने, ‘तत्कालको अवस्था जाँचमा मोबाइल फोन एप्लिकेशन प्रयोग गरिने छ ।’

बारामा वढी क्षती

आइतबार करिब ८ बजे राती आएको हुरीबतासका कारण पर्सामा एक जनाको मृत्यु भएको छ । वारा र पर्साका करिव ५ सय जना घाइते भएका छन् । उनीहरुको वीरगंज स्थित नारायणी क्षेत्रिय अस्पताललगायत स्थानीय अस्पतालमा उपचार भइरहेकोमा केहि घर फर्केको पर्सा रेडक्रसले जनाएको छ । राती आकश्मिक रक्तदान गर्नुकासाथै एम्बुलेन्स र प्राथमिक उपचारक टिम परिचालन गरिएको थियो ।

वारा जिल्लामा २७ जनाको मृत्यु भएको र करिव २५० जना स्थानिय अस्पतालमा उपचारार्थ रहेका छन् । फेटा गापाको विनवलिया, फेटा र पुरौनिया, परसौनी गापाको भरवलिया र खुटवाजवदी, कलैया उनपाको धर्मनगर, माहगढीमाई नपाको तेलकुवा र तेलगाई, शुवर्ण गापाको हर्दिया, परसुरामपुर र वगही त्यस्तै पचरौटा नपाको भेनौली वढी प्रभावित भएका छन् ।

नेरेसो वारावाट द्रुत सर्वेक्षणका लागी घटना तत्तकालै स्वयंसेवक परिचालन गरिएको छ । नेरेसो उपशाखा र स्थानिय सरोकारवालहरुको समन्वयमा तयारी खानाको व्यवस्थापन गरिएको छ ।

वारा जिल्लामा २०० थान त्रिपाल र डोरी, वाल्टीन ५०० थान र म्याट १०० थान मौज्दात राखिएको छ । करिब ५ सय परिवारलाई गैह्रखाद्य सामग्री आवश्यक पर्ने रेडक्रसले जनाएको छ । । नेरेसो वीरगंज गोदामघरमा २२ सय परिवारको को गैह्खाद्द राहात समाग्री मौज्दात रहेको जनाइएको छ ।

रगत पर्याप्त छ

नेरेसो रक्तसञ्चार केन्द्र, बीरगंजमा ४०० यूनिट रगत र रक्ततत्व व्यवस्था गरिसकिएको रेडक्रसले जनाएको छ । पर्साका रक्तसञ्चार इन्चार्ज सौरभ पाण्डेले भने, ‘तत्कालको लागि मौजुदा रगतको भण्डारन पर्याप्त छ । तर, मागको प्रकृति र संख्या यकिन नभएकोले रक्तदाताहरु तयार रहन आवश्यक छ ।’

यता काठमाडौमा पनि हुरीवतास प्रभावित विरामीहरुका लागि माग भई आएमा निशुल्क रगत उपलव्ध गराउन रक्तसञ्चार केन्द्र काठमाडौले आवश्यक व्यवस्था मिलाउने बताइएको छ ।

तस्बिरः सुवक महतोको फेसबुकबाट