दिल्लीको नाटकिय हारमा सन्दीपको दुई विकेट

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल)मा सन्दीप सम्मिलित दिल्ली क्यापिटल्स पराजित भएको छ । सोमबार राती भएको खेलमा दिल्ली किंग्स इलेभेन पन्जावसँग १४ रनले पराजित भएको हो ।

दिल्लीका लागि नेपाली राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेपनि टोलीलाई जित दिलउन सकेनन् । उनले चार ओभरमा २७ रन खर्चदै महत्वपूर्ण दुई विकेट लिएका थिए ।

पन्जावसँग नाटकिय रुपमा पराजित हुँदै दिल्लीले लिग तालिकाको शीर्ष स्थानमा उक्लने अवसर गुमायो । पन्जावले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धरित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ५२ रन मात्र बनाउन सक्यो ।

दिल्लीको १६.४ ओभरको समाप्तिसम्म १ सय ४४ रन पुग्दा मात्र चार विकेट गुमएको थियो । जहाँ दिल्लीलाई जितका लागि २० बलमा मात्र २३ रनको आवश्यक थियो । तर, त्यसपछिका ३ं.२ ओभरमा मात्र ८ रन जोड्दा दिल्लीले आफ्ना ७ विकेट गुमायो ।

दिल्लीका पृथ्वी श पहिलो बलमै आउट भए पनि शिखर धवनले ३० र कप्तान श्रीयास आयरले २८ रन जोडेका थिए । ऋषभ पन्त ३९ र कोलिन इन्ग्रामले ३९ रनमा आउट भएपछि दिल्लीको अविश्वसनीय विकेट पतन सुरु भएको थियो ।

पन्जावका साम कुर्रानले उत्कृष्ट बलिङ गरी ह्याट्रिक विकेट लिए । उनले १८ औं ओभरको अन्तिम बलमा हर्षल पटेललाई बोल्ड गरे । २० औं ओभरको सुरुआती २ बलमा उनले कागिसो रावाडा र सन्दिप लामिछानेलाई बोल्ड आउट गरी ह्याट्रिक विकेट पूरा गरे । उनका अलावा कप्तान रविचन्द्रन आश्विनले पनि २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो । पञ्जावका लागि डेभिड मिलरले सर्वाधिक ४३ रन बनाए । सर्फराज खानले ३९ रन बनाए ।