गाँस न बास, खुला आकाश : बस्ने ठाउँ नभएपछि किरिया समेत स्थगित

काठमाडाैं । सोमबार राति ९ बजे । बाराको कलैया–१८ स्थित मारबालियाका २२ वर्षीय राजेन्द्र पटेल हुरीले ध्वस्त घरको भग्नावशेषनजिकै आगो ताप्दै थिए । भर्खरै मात्र उनी आफ्ना ५० वर्षीया आमा मनुरादेवी कुर्मीको दाहसंस्कार गरेर आएका हुन् । रीतअनुसार कपाल मुण्डन गरे, तर किरिया बस्ने ठाउँ नै पाएनन् । आइतबार साँझको हुरीले उनका दुवै घर ध्वस्त बनायो । घरले थिचेर आमाको घटनास्थलमै ज्यान गयो । उनीसँग अहिले ओत लगाउने ठाउँ छैन, त्यसैले आमाको किरिया कर्मलाई नै पछि सार्नुपर्‍यो ।

नयाँ पत्रिकासँग उनले भने, ‘हुरीले घर उडायो । छानोले थिचेर आमाको ज्यान गयो । दुवै घर ध्वस्त भए । आज दिनभर आमाको दाहसंस्कार गरियो । कपाल मुण्डन गरियो । किरिया बस्नुपथ्र्यो । घर छैन, कहाँ किरिया बस्ने ?’

मारबलियाका ६० वर्षीय बिर्जलाल चमारको ५० वर्षीया श्रीमती बढियादेवीको ज्यान पनि आइतबारको हुरीले लग्यो । सोमबार दिनभर बिर्जलालले श्रीमतीको दाहसंस्कार गरे । कपाल मुन्डन गरे । तर, घर हुरीले उडाएकाले उनले श्रीमतीको किरिया कर्म केही दिन पर सारेका छन् । सोमबार रातिको ९ः३० बजे ध्वस्त घरनजिकैको खाली ठाउँमा आगो ताप्दै गरेका उनले भने, ‘राति मच्छड आउँछ । झुल छैन । ओत लाग्न पाल छैन । खानलाई पानी छैन । यस्तो अवस्थामा श्रीमतीको किरिया गर्ने कुरो भएन ।’

मारबालियास्थित हुरीले ध्वस्त घरनजिकै लगाइएको एउटा पालमुनि १५ भन्दा धेरै महिला सुतेका थिए । २२ वर्षीय अनितादेवी काखे छोरालाई बर्कोले गुटुमुटु पारी छोप्ने प्रयास गर्दै थिइन् । घाइते छोराको टाउकोमा चोट प्रशस्तै देखिन्थ्यो । उनले केही भनिन्, तर बुझिएन । भाषा उल्था गर्दै छेउमा रहेकी उनकी साथीले बुझाइन्, ‘हुरीले थिचेर उनकी सासु बितिन् । छोरा र श्रीमान् पनि घाइते भए । बेघरबार भएपछि उनी पालमा बस्न पुगेकी हुन् । घर नभएपछि उनको पनि सासुको किरिया कर्म रोकिएको छ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।