एक मिनटमै सोत्तर भयो गाउँ

पर्सा । आइतबार साँझ करिब पौने आठ बजेतिर आएको विनाशकारी हावाहुरी थामिए पनि त्यसले पुरैनियावासीलाई सोत्तर बनाएर छाडेको छ। फेटा चोकबाट गाउँमा पस्ने मूल बाटोबाट पुरैनियातिर प्रवेश गर्नेबित्तिकै ढलेका रुख, जरैबाट उखेलिएका बाँसका घारी देखिन्छन्। घरहरु भत्केको, भकारीको धान छरिएको र बिजुलीको खम्बा ढलेको देखिन्छन्। ‘यो त केही पनि होइन, अगाडि हेर्नुस्, ‘करेजा’ (हृदय) निस्किएला,’ स्थानीय सैफअली अन्सारी भन्दै थिए, ‘एक मिनेटको आँधी विनाश लीला देखाएर गयो।’

अगाडि बढ्दै जाँदा लहरै घरहरु भत्केर छरपस्ट छन्, फुसका घर कहाँनिर खडा थिए भन्ने ठम्याउन पनि कठिन छ। अधपक्की (इँटको भित्ता र साधारण छानो भएका) घरमा बढी क्षति पुगेको छ। एउटै छानोसमेत सद्दे छैन। घरबाट उछिट्टिएर भित्ता पर पुगेका छन्, इँट छरिएका छन्। पक्की घरको समेत छत उडेको छ अनि भित्ता भत्केको छ। हाते धारा टुटेका छन्, स्कुल अनि मस्जिद क्षतिग्रस्त छन्। बिजुलीका खम्बा ढलेर चारैतिर तार लतरिएको छ। सयौं रुख ठुटा भएका छन्। बालीनाली सोत्तर परेको छ। समग्र गाउँ भग्नावशेषमा परिणत भएको छ।

घरभित्रको अन्नपात सबै पुरिएको छ। भकारी धर्तीमा बजारिएर छरिएको अन्नउपर माटोको पत्र चढेको छ। घरका भाँडाकुडा, साइकल, मोटरसाइकल, टेलिभिजन, बाकस, खाट, कुर्सी सबै काम नलाग्ने भएका छन्। घरका भग्नावशेषमा बसेका महिला पुरुष कहाँदेखि मिलाउन सुरु गर्ने भनी बिलखबन्द छन्, के गर्ने, के नगर्ने, होस नभएजस्तो। ‘यस्तो विनाशकारी घटनापछि गाउँका मान्छेको के हाल भएहोला, विचार गर्नुस्,’ सैफअलीले भने, ‘हुरी रोकिएपछि के भयो भन्ने होस आउन नै केही समय लाग्यो। अनि चित्कार र हल्लाले गाउँ गुन्जिन थाल्यो। घरैपिच्छे मान्छेहरु थिचिएका रहेछन्। कसलाई पहिले निकाल्ने जस्तो भयो। हामी जोगिएकाहरु थिचिएकालाई जोगाउनमा जुट्यौं।’ उनले अगाडि भने, ‘हामीले घाइते मान्छे घरहरुबाट निकाल्न थाल्यौं। गाउँमा एम्बुलेन्स वा सवारीसाधन पस्ने ठाउँ थिएन। खाटमा बोकेर फेटा चोकसम्म लग्यौं। अस्पताल लग्नुपर्ने मान्छे सयौं थिए। एम्बुलेन्स एउटा आइरहेको थियो, गर्ने के ?’ आजकाे नागरिक दैनिकमा खबर छ ।