हावाहुरीले दुई हजार भन्दा बढी परिवार प्रभावितः रेडक्रसको सहयोगमा सक्रिय

बारा । बारा र पर्सा जिल्लामा हावाहुरीले २ हजार ११ घरमा क्षति पुगेको प्रारम्भिक  सर्वेक्षणले देखाएको छ । पहिलोपल्ट मोबाइल एप्लिकेशनको प्रयोग गरी यो तथ्याँक संकलन गरिएको रेडक्रसले जनाएको छ ।  बारामा १ हजार ५ सय दुर्इ र पर्सामा  ५ सय ९ परिवार प्रभावित भएको रेडक्रसको भनाइ छ ।

मोबाइल एप्लिकेशनबाट यसरी तथ्याँक लिन स्थानीय वडाध्यक्ष, रेडक्रस र शुरक्षाकर्मीको टोलीले समन्वय  गरिरहेका छन् । प्रतिकार्यका काममा नेरेसोका स्थानीय ९९ जना स्वयंसेवक  खटिइरहेका छन् । केन्द्रीय तहबाट राष्ट्रिय विपद् प्रतिकार्य समूह दुवै जिल्लामा पुगिसकेका छन् ।

रेडक्रसले २०६ परिवारलाई राहत प्याकेजको पूर्ण सेट वितरण गरेको जनाएको छ । सेटमा त्रिपाल एक, कम्बल २, सारी १, पुरुषको धोती १, कपडा  १६  मीटर, भाँडाकुँडाको सेट, पानी राख्ने वाल्टी, १० मिटर डोरी छ ।

यसका अतिरिक्त ४९९ परिवारलाई तारपोलिन तथा डोरी वितरण गरिएको छ । यसमध्ये पर्साका विभिन्न प्रभावित क्षेत्रमा मंगलबार २४६ थान तारपोलीन र डोरी वितरण गरिएको रेडक्रका संचार विभाग प्रमुख दिव्यराज पौडेलले बताए ।  ७५ जनालाई प्राथमिक उपचार तथा उपचारको लागि ओसारपसारमा सहयोग गरिएको छ । विभिन्न संघसंस्थाको सहयोगमा पर्सामा ५० परिवारका लागि २०० किलो चामल, १०० केजी दाल र ५० केजी आलु वितरण गरिएको उनले बताए ।

बारामा थप २५३ परिवारलाई तारपोलिन तथा डोरी र एक सय थान म्याट वितरण गरिएको छ । विपद् व्यवस्थापन विभागका निर्देशक मोना अर्याल र उपनिर्देशक रुद्रनारायण अधिकारी सर्वेक्षण तथा सहयोग गतिविधिको समन्वयका लागि प्रभावित क्षेत्रमा छन् ।

निर्देशक अर्यालका अनुसार  तयारी खाना र छाना नै अहिलेको आवश्यकता देखिएको छ  । देशभरबाट सहयोग गर्न इच्छुक संघसंस्थाहरुले जिल्ला विपद् व्यवस्थापन समितिमा सम्पर्क गरे प्रभावित परिवारसम्प पुग्न र वितरण गर्न सजिलो व्यवस्था मिलाएको  र रेडक्रसले पनि त्यसमा सहयोग गरिरहेको उनले बताइन् ।

रेडक्रसका विभिन्न जिल्ला शाखाहरुले  बारा जिल्ला शाखालाई प्रतिकार्यमा सहयोग गरेका छन् ।

झापा जिल्लाबाट पचास हजार, सिराहा जिल्लाशाखाबाट एकाउन्न हजार, सिन्धुली जिल्ला शाखाबाट २ लाख ७५ हजार, भक्तपुर जिल्ला शाखाले  पचपन्न हजार सहयोग गरेका छन् ।  सुनसरी जिल्ला शाखाबाट  २१ हजार  सहयोग आएको छ ।  चितवन जिल्ला शाखाबाट खाद्यान्न सामग्री च्युरा ५०० केजी, भुजा १५० केजी र चाउचाउ १५ काटुन सहयोग बारामा पुगेको छ ।