छाउपडी बार्नेलाई सरकारी सुविधा नदिइने

काठमाडाैं । पञ्चपुरी नगरपालिकाले छाउपडी अन्त्यको पहल थालेको छ । छाउगोठ भएको घरमा नगरपालिकाले प्रदान गर्ने सेवासुविधामा रोक लगाउने नीति बनाइएको छ । नगरसभाले महिला तथा बालबालिकाको हक–अधिकार संरक्षण गर्ने सम्बन्धमा बनेको विधेयक–२०७५ पारित गर्दै छाउपडी बार्ने परिवारलाई सुविधाबाट वञ्चित गर्ने निर्णय गरेको हो ।

महिनावारी भएका वेला असुरक्षित स्थानमा बस्नुपर्ने बाध्ययताका कारण महिलाहरूको ज्यानसमेत जानेगरेको छ । उनीहरूमाथि बलात्कारका घटना पनि भएका छन् । त्यसैले नगरपालिकाले यो कुसंस्कार रोक्न कठोर बन्नुपरेको पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापाले बताए । ‘छाउपडी बार्ने र घरमा छाउगोठ बनाउने परिवारलाई नगरपालिकाबाट प्राप्त हुने सबैखाले सुविधामा रोक लगाउने गरी कानुन बनाइएको छ,’ उनले भने, ‘यो सामाजिक कुसंस्कारविरुद्ध विभिन्न अभियान थाल्ने संघसंस्था तथा व्यक्तिलाई नगरपालिकाले सम्मान गर्नेछ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।