देउवाको आग्रह : राहत उद्धारमा खटिनुस, नेविसंघको टोली पुग्यो प्रभावित क्षेत्रमा

काठमाडौं । आइतबार बेलुकी आएको हावाहुरीले बारा र पर्सा जिल्लामा कम्तिमा २९ जनाको ज्यान गयो । करिब चार सय जना घाइते भए । २४ घर हावाहुरीको चपेटामा परेर भत्किएका छन् । हावाहुरी क्षती पुर्याएको चार दिन पुग्दा पनि केन्द्रीय विपत् व्यवस्थापन समितिको बैठक बस्न सकेको छैन ।

मुलुकको एक भागमा आइलागेको प्राकृतिक विपत्तीप्रति वर्तमान सरकार त्यति संवेदनशील बन्न नसकेको उसको राहत र उद्धारको शैलीले देखाएको छ । २४ सय घर भत्किएर प्रदेश २ मा घरबारविहीन भएका जनताका लागि अहिलेसम्म सरकारले ४ सय भन्दा केही थान बढी पालमात्रै पठाएर पीडितलाई थप निराश बनाउने काम गरेको छ ।

२०७२ सालमा विनाशकारी भूकम्प गएपछि हल्लिएको आधा नेपाल र त्यहाँका जनताले भोग्नुपरेको पीडा सिंगो मुलुकलाई दुखेको थियो । त्यसबेलाको पीडामा के मधेश, के पहाड, के हिमाल, के तराई सबैतिरका जनता एकअर्काको घाउमा मल्हम लगाउन तत्पर भएका थिए । यसपटक पनि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लादेखि सुदूरपूर्वका जनताले मधेशमा लागेको घाउमा मल्हम लगाउन राहत, रगत र औषधि संकलन गरेर पठाएका छन् ।

विभिन्न संस्था, व्यक्तिजस्तै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस मधेसले भोगेको यो अप्रत्याशित पीडामा संवेदनशील भएर लागेको छ । कांग्रेसका पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार नै हावाहुरी पीडित जिल्लामा मात्रै पुगेनन् उनले त्यहाँका घाइतेहरुलाई भेटे । शोकाकुल परिवारलाई संवेदन दिए र पार्टीको तर्फबाट २५ लाख राहतकोषमा दिने घोषणा गरे । दुई नम्बर प्रदेशको कांग्रेस संसदीय दलले छुट्टै १० लाख उपलब्ध गराउने घोषणा गर्यो । कांग्रेसका सम्पूर्ण सांसदले दुई दिनको तलब दिने घोषणा सोमबार नै गरिसकेका थिए । पीडित जिल्लामको भ्रमणमा पुगेका सभापति देउवाले पार्टी पंक्तिलाई राहत र उद्धारमा खट्न निर्देशन दिएपछि यतिबेला पार्टीका नेता, कार्यकर्ता र विभिन्न भातृ संगठन हावाहुरी प्रभावित जिल्लामा सक्रिय भएका छन् ।

नेविसंघको टोली राहतमा

पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनपछि हावाहुरी पीडितको उद्धारमा कांग्रेसी लागेका छन् । सोही क्रममा नेपाल विद्यार्थी संघ उद्धारका लागि बारा र पर्साका विभिन्न प्रभावित क्षेत्रमा पुगेको छ । नेविसंघका निवर्तमान अध्यक्ष नैनसिंह महरको नेतृत्वमा जिल्ला पुगेको टोलीले विभिन्न राहत सामग्री हावाहुरी पीडितलाई वितरण गरेको छ । त्यति मात्र होइन सकसमा परेका जनताको भग्नावशेष घर पन्छाउन पनि नेविसंघले सघाउने भएको छ ।

निवर्तमान अध्यक्ष महरले भने, नेविसंघ पार्टीका लागि मात्रै शक्ति होइन, देशलाई सकस परेका बेला यो विना पोशाकको सेना हो । त्यसैले पीडामा परेका दाजुभाइ, दिदीबहिनीलाई राहत र सहयोगका लागि हामी यहाँ पुगेका हौँ । नेविसंघका कार्यकर्ता केही दिन पीडित क्षेत्रमै बसेर उनीहरुको सहयोगमा खटिने महरले बताए ।