चितवनमा पाँच महिनामा करिब ६ सय गुण्डागर्दी

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले गएको पाँच महिनामा गुण्डागर्दी गर्ने ५६५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । गएको वैशाख महिनामा जिल्लालाई सुरक्षित र शान्त बनाउने अवधारणास्वरुप विशेष अभियान शुरु गरिएको थियो । गुण्डागर्दी गर्नेलाई नियन्त्रण गर्न विशेष अभियान थालिएको हो ।

गुण्डागर्दी गर्नेको खोजी, बढार्ने र छान्ने यस अभियानलाई प्रहरीले सर्च, स्वीप एण्ड स्क्रिनिङ अप्रेशन नामाकरण गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार अभियानअन्तर्गत विभिन्न ठाउँमा एक हजार ७०० लाई नियन्त्रणमा लिइएको थियो । उनीहरुमाथि छानबिन गरी दोषी देखिएकालाई मुद्दा दर्ता गरिएको हो ।

जिल्लामा पाँच प्रकारका गुण्डागर्दी गर्ने रहेका छन् । जसलाई फ्याउरे, टोले, संरक्षित, राजनीतिक र व्यावसायिकरुपमा प्रहरीले वर्गीकरण गरेको छ । पछिल्लो समय प्रहरीले अभियान थालेसँगै राजनीतिक र व्यावसायिक गुण्डा पूर्णरुपमा नियन्त्रणमा रहेको उनले बताए । अन्य प्रकारका गुण्डा भने अझै रहेका छन् ।

यसअघि गुण्डागर्दीमा संलग्न भएर अहिले सामान्य जीवनयापन र व्यवसाय गरिरहेका १७ जनामाथि प्रहरीले निगरानी राखिरहेको जनाएको छ । प्रहरीले जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, प्रहरी चौकी, अस्थायी प्रहरी चौकी र प्रहरी बिट मातहतका क्षेत्रमा गुण्डागर्दी नियन्त्रण अभियानअन्तर्गत काम गरेको हो ।

जिल्लामा ६३ ठाउँमा प्रहरीका एकाइ छन् । ती एकाइले शङ्कास्पद ठाउँमा घेराहाली छानबिन गरेर गुण्डागर्दी गर्नेलाई नियन्त्रणमा लिने गरेको छ । पक्राउ परेकालाई सामान्यतया सार्वजनिक हितविरुद्धका ऐनदेखि सङ्गठित अपराधसम्मका मुद्दा चलाइएको ढकालले बताए ।