मन्दिरको शरणमा ‘बाल विधवा’

– राजु पौडेल

कुश्मा । राम्रोसँग बोली फुट्न नपाउँदै सिन्दूर पहिरिएर ‘बुहारी’ बनेका ‘बाल विधवा’हरु यतिबेला मुक्तिनारायण मन्दिरको शरणमा आश्रय लिँदै दिन कटाइरहेका छन् ।

पोखरा–बागलुङ राजमार्ग अन्तर्गत सहस्रधारा छेवैमा रहेको मुक्तिनारायण मन्दिर र सोही परिसरमा रहेको आश्रममा आफ्नो बाँकी जीवन बिताउने प्रणसहित उनीहरुले मन्दिरमा आश्रय लिएका हुन् ।

कुश्मा नगरपालिका पकुवा भिरमुनि माइती भएकी बाल विधवा पद्मा आचार्यको कर्म घर भने बाजुङ देवीस्थान हो । माइतीमा ठाकुरदेवी भुवाजी (कान्छी) भनेर बोलाइने उनले अहिले ७५ औं वसन्त पार गरिसकेकी छिन् । विक्रम सम्बत ०१३ मा विवाह बन्धनमा बाँधिएकी उनी त्यतिबेला जम्मा १० वर्षकी मात्र थिइन् ।

श्रीमान् र श्रीमतीको सम्बन्धसमेत राम्रोसँग बुझ्न नपाएकी उनले विवाह भएको ३ वर्षमा आफ्नो पति नारायण भुवाजीलाई गुमाउनु प¥यो । त्यतिबेलाको नेपाली समाजको दृष्टिकोण र महिलाप्रति गरिने व्यवहार पचाउन उनका लागि फलामका चिउरा चपाउनु सरह थियो । त्यसमाथि श्रीमान् गुमाएकी उनलाई ‘श्रीमान् खाई, अलच्छिना रैछे’ भनेर आरोप लगाउनेहरु प्रशस्तै थिए गाउँमा ।

ती सबै दुःख, पीडा बिर्सेर परिवारले दिएको सानो टुक्रा जमीनमा उनले बाँकी जीवन सम्हाल्ने कोशिश गरिन् । तर, उनलाई त्यो प्रयासले बाँकी जीवन गुजार्न मुश्किल थियो ।

विसं ०४३ मा आफ्नो भागमा परेको सानो टुक्रा जमीनलाई ४० हजार रुपैयाँमा बेचेर उनी मुक्तिनारायण मन्दिरको आश्रममा आएर बस्न थालिन् । जीवन जब बुझ्न थालिन् त्यतिबेलै उनको जीवन आधा मरिसकेको थियो । “त्यही आधा जीवन सार्थक बनाउन आश्रममा आएकी छु,” पद्मा आचार्य रुँदै बिलौना गर्छिन्, “दश–एघार वर्षमा श्रीमान् के हो थाहा थिएन । जब बुझ्ने भएँ, मैले श्रीमान् गुमाइसकेकी थिएँ ।”

सोह्र वर्षको उमेरदेखि ४० वर्षसम्म आफूले धेरै खप्की र हण्डर खानुपरेको उनी सम्झन्छिन् । भन्छिन्, “विगत सम्झँदा भक्कानो फुटेर आउँछ तर, के गर्ने ? अहिले त भगवान्को शरणमा खुशी छु ।”

त्यस्तै, मूलपानी बागलुङ माइत भई मालिका गाविस पञ्चासे, बागलुङ कर्म घर भएकी पवित्रा सापकोटाले पनि ११ वर्षमै श्रीमान् गुमाइन् । विसं १९९१ मा जन्मिएकी उनलाई ७ वर्षको उमेरमै काखमा च्यापेर सिन्दूर हालिएको थियो । बिहे भएको २ वर्षमै श्रीमान् खगेन्द्र सापकोटा बिते पछि घरपरिवारबाट हेला भएको उनले गुनासो गरिन् । ‘श्रीमान् टोकी, पिराहा रैछे’ भनेर परिवारले दुःख हैरानी दिएका ती दिन उनी झल्झल्ती सम्झन्छिन् । देवरहरुले दिएको ७ हजार रुपैयाँमाथि आफूले दुःखजिलो गरेर थन्क्याएको ७÷८ रुपैयाँ हजार लिएर उहाँ मुक्तिनाथ मन्दिरको आश्रम आएकी हुन् ।
विसं ०४८÷४९ तिर आश्रम झरेकी उनी श्रीमान् गुमाए पछि परिवारले दिएको पीडा सबैभन्दा तीखो गरि मुटुमा बिझिरहेको बताउँछिन् । भन्छिन् “सुख कहिल्यै पनि बुझ्न पाइनँ । पति गुमाएँ, जीवन एक्लै धकेलिरहेकी छु । अब त मर्ने बेला पनि हुन लाग्यो । भगवानको शरणमा छु ।” आफ्नो कथा भनिरहँदा उनका आँखा आँशुले निथ्रुक्क भिजिसकेका थिए ।

उनीहरुलगायत मुक्तिनारयण मन्दिरमा अहिले चारजना बाल विधवा तथा महिला शरण लिइरहेका छन् । पुजारी, बाल विधवालगायत यहाँ अहिले आठ जनाको नित्य खानपानको व्यवस्था मन्दिरले नै गर्ने गरेको छ । मन्दिरका मूल पुजारी नारायण उपाध्याय भन्छन्, “भगवान् सम्झेर आउने सबैलाई भगवान्ले नै खान, बस्न पु¥याउनु भएको छ । उहाँहरु आएर हामी झन् खुशी भएका छौं । मिलेर भगवान्को आराधना गर्छौं । मिलेर जीवन गुजारिरहेका छौं ।”

रासस