सहयोगी हातभन्दा रमिते बढी

वीरगन्ज । हुरी प्रभावित भरबलियास्थित दुरपतिदेवीको घरअघि उभिएर एकजनाले ‘सेल्फीस्टिक’ मा स्मार्ट मोबाइल हालेर त्यहाँको दृष्य हिन्दी भाषामा बयान गर्दै थिए। पक्की घर, कच्ची घर, खपटाको घर भत्किएका र टेम्पोसमेत कुल्चिएको बयानसहित तस्बिर ती व्यक्तिले मोबाइलमा खिचिरहेको देखेर अन्य मानिस पनि त्यहाँ भेला हुन थाले। भीड बढ्दै गयो। ती व्यक्तिले एकछिन बिराम लिएको मौका छोपेर एकजनाले सोधे, ‘कुन मिडिया हो ?’ तर जवाफ आएन। फेरि अर्कोले दोहो-याएर त्यही प्रश्न सोधेपछि जवाफ आयो– मिडिया होइन ‘फेसबुक लाइभ’ हो।

यस्तो जबाफ सुनेपछि उत्सुक भएर जम्मा भएका अन्य खिन्न भएर आआफ्नो बाटो लागे। उनीहरु पनि बाहिरबाट क्षतिको दृष्य हेर्न आएका थिए। हुरीले विनाश गरेको भोलिपल्ट सोमबार बिहान आठ बजेतिरको दृष्य थियो यो। हुरी प्रभावित बस्तीमा मोबाइल भिडियोग्राफी, मोबाइल फोटोग्राफी र सेल्फी लिने र रमिता हेर्नेको लस्कर दिनहुँजसो देखिन्छ। ‘यहाँ त गढीमाईको मेलाजस्तै भएको छ,’ भरबलियाका बिक्की महतोले भने, ‘सीमापारी इन्डियाका मानिस दिनहुँ दर्जनौं ट्याक्टर र जिप चढेर आइरहेका छन्। यता पर्सा र उता रौतहटसम्मका मान्छे पनि आएका छन्। हामी पीडित गास, बास र कपास नपाएर हैरान छौं तर कसलाई भन्ने ?’ उनले अपेक्षा गरेजस्तो पीडितलाई राहत र थप पीडा नहुने खालका काम गरिदिने मानिसको कमी छ। नागरिक दैनिकमा खबर छ ।