हर्क र लिलावतीको एकलसाँझ

काठमाडौं । चर्चित लोक गायक एवम् वरिष्ठ वाद्यवादक खर्कबहादुर बुढामगर र उनकी धर्मपत्नी लिलावती बुढामगरले चैत्र २९ गते काठमाडौंको जमलस्थित् राष्ट्रिय नाचघरमा ‘युगल साँझ’ को आयोजना गर्ने भएका छन् ।

सल्यान सरोकार समाजले ‘युगल साँझ’बारे जानकारी गराएको हो । समाजद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गायक बुढामगरले साँझका लागि सम्पूर्ण तयारी भैसकेको बताए । उनकाअनुसार युगल साँझ दिउँसो २ बजे सुरु हुनेछ । साँझमा उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यता रहने छ ।

सगरमाथा टेलिभिजनबाट ३ घन्टा ३० मिनेट प्रत्यक्ष प्रशारण हुने कार्यक्रममा कम्तिमा १२ वटा गीत प्रस्तुत गर्ने गायक बुढामगरले जानकारी दिए । उनले भने, ‘विशेषगरि सल्यानमा नाचिने पैंसेरुँ, सोरठी र टप्पा नाँच हामी प्रस्तुत गर्छौं । यी पौराणिक, मौलिक नाचको प्रस्तुतीका लागि सल्यानबाटै स्थानीय कलाकारहरु आउनु हुनेछ । यसबाट सल्यानकोमात्र नभई सम्पूर्ण कर्णालीको संस्कृतिको एउटा पाटोलाई झल्काउने छ ।’

आफ्नो सांगितिक यात्राको दौरानमा करिब २०० वटा लोकगीत यो जोडिले रेकर्ड गरिसकेको छ । उनीहरुका व्यवसायिकभन्दा मौलिक र स्थानीय लोकगीतहरु रहेका छन् । खर्कबहादुर बुढा मगर गायकमात्र नभएर नेपालकै अब्बल बाद्यवादक हुन् । उनको ३१ वर्षे सांगीतिक यात्रामा करिब २५ हजार भन्दा बढी नेपाली लोकगीत तथा संगीतमा मादलका तालहरु रेकर्ड गराएका छन् । युगल साँझको दिन मादलको मात्रै एउटा सोलो प्रदर्शन उनी लगायतको समुहले गर्नेछ ।
मादल वादकको इतिहास हेर्ने हो भने खर्कबहादुर बुढालाई “मादल सम्राट” को उपाधिले विभुषित गर्दा उनको यसप्रतिको साधना र लगावको सम्मान हुने सल्यान सरोकार समाजको भनाइ छ ।

समाजले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘जसको लागि यस समाजले उक्त उपाधि दिलाउनका लागि अभियानकै नेतृत्व गर्ने जानकारी पनि यहाँ गराउँदछौं । तर यो अभियानमा तपाईं पत्रकार ज्यूहरुको सहयोग विना कल्पना पनि गर्न सकिंदैन । यो कार्यक्रमको मुख्य उद्देश्य सल्यान र कर्णाली प्रदेशको लोक संस्कृतिको संरक्षण, प्रचार–प्रसार र अन्तराष्ट्रिय स्तरको नेपाली प्रतिभा उत्पादन गर्नु रहेको छ ।’

‘युगल साँझ’ कार्यक्रमलाई सम्पन्न गर्नको लागि सल्यानका १० वटै स्थानिय सरकार, कर्णाली प्रदेशको पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, बैंकहरुको विशेष आर्थिक सहयोग रहेको पनि समाजले स्पष्ट पारेको छ । अन्य गैर–सरकारी संघ–संस्था र थुप्रै शुभचिन्तकहरुले साथ सहयोगको आश्वासन दिएको पनि समाजले जनाएको छ ।