पाँचसय परिवारलाई रेडक्रसको राहत

बारा । बारा र पर्सा जिल्लामा हावाहुरीले पारेको विपद्बाट घर पूर्णक्षति भएका ५ सय ३५ परिवारलाई नेपाल रेडक्रस सोसाइटीले तत्कालको सहयोगस्वरुप गैरखाद्य सहयोग सामग्री सेट शुक्रबार साँझसम्म उपलव्ध गराएको छ ।

यसबाट २६ सय मानिस प्रत्यक्ष लाभान्वित भएको रेडक्रसले जनाएको छ । हरेक सेटमा त्रिपाल एक, कम्बल २, सारी १, पुरुषको धोती १, कपडाहरु १६ मीटर, भाँडाकुँडाको सेट, पानी राख्ने वाल्टी, १० मिटर डोरी रहेका छन् ।

यसका अतिरिक्त ६ सय १२ परिवारलाई तारपोलिन तथा डोरी, सय वटा वस्ने म्याट्रेस र ४० वटा कम्मल पनि वितरण गरिएको छ ।
तयारी खाना भने ३६४ परिवारलाई वितरण गरिएको छ ।

स्वास्थ्य अवस्थालाई ख्याल गर्दै १० हजार थान साबुन, पानी सुद्धिकरणको लागि एकलाख वटा ट्यावलेट, पानी राख्ने बाल्टी, सरसफाईका अन्य सामग्री पाँचसय सेट र २० वटा आपत्कालीन चर्पी पनि प्रभावित क्षेत्रमा पठाइएको रेडक्रसका संचार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए । पाँच सयवटा झूल वारामा पठाइएकोमा सएवटा परिवारलाई वितरण गरिएको छ ।

प्रारम्भिक सर्वेक्षण अनुसार हावाहुरीले २ हजार ४ सय चार घरमा क्षति पुगेको पौडेलले बताए । पहिलो पल्ट मोबाइल एप्लिकेशनको प्रयोग गरी यो तथ्याँक संकलन गरिएको हो । विभिन्न सहयोगको लागि रेडक्रसका ९९ स्वयंसेवक हरेकदिन खटिएका छन् ।