काठमाडौंमा सय रुपैयाँमै उपचार, जेष्ठ नागरिकलाई सित्तैमा सेवा

काठमाडौं । राजधानी काठमाडौं उपचार, शिक्षा र अन्य सुविधा देशका अन्य भाग भन्दा राम्रो पाइन्छ । तर त्यसका लागि महंगो शुल्क तिर्नुपर्छ । काठमाडौंमा रहेका न्यूरो अस्पताल, नर्भिक, मेडिसिटी, ग्रान्डी, बि एन्ड बि, बयोधा, हेम्सजस्ता अस्पतालमा उपचार त पाइन्छ तर तीं अस्पताल सामान्य आन्दानी हुनेका लागि होइन्जस्तै भएका छन् । ती अस्पतालमा महंगो उपचार शुल्क, हजारौं रुपैयाँका क्याबिन र डिलक्स रुम, अनि सामान्य रोगको पनि लाखौँ बिल तिर्नुपर्ने हुन्छ ।

काठमाडौंमै एउटा यस्तो अस्पताल पनि छ, जहाँ आम नागरिकको सय रुपैयाँमै उपचार गरिन्छ । कम आय भएका मानिस धेरै खर्च हुने डरले अस्पताल जाँदैनन् तर चाबहेल नजिकै गुहेश्वरी हुँदै कुमारी गलमा पुग्ने हो भने त्यहाँ एउटा बाँसबाट निर्माण गरिएको चिटिक्क घर देखिन्छ, त्यही हो समता अस्पताल ।

बाँसबाट अस्पतालको भवन निर्माण गरिएको छ । हेर्दा कुनै कटेज जस्तो देखिन्छ । यही कटेज छिर्नेवित्तिकै दायाँतिर डाक्टरको सूची राखिएको देखिन्छ । त्यहाँ जनरल फिजिसियन, बाल रोग विशेषज्ञ, नशा तथा हाडजोर्नी, स्त्री रोग विशेषज्ञ, मुट, छाला तथा यौन, रोगका गरि २५ जना विशेषज्ञ डाक्टरले सेवा दिने गरेका छन् ।

आफूलाई यस्तो रोग लागेको छ भनेर काउन्टरमा भनेपछि रोग अनुसारको डाक्टरको नाम सिफारिस गरिन्छ । बिरामीलाई एउटा पूर्जा दिइन्छ । त्यसका लागि तपाईँले सय रुपैयाँ मात्रै शुल्क तिरे पुग्छ ।

बिरामीले प्याथोलोजी, ईसीजी, एक्स–रे, वा अल्ट्रासाउन्ड गर्नुपरे थप शुल्क लाग्दैन । ज्येष्ठ नागरिक परिचयपत्र भएका बिरामीलाई अस्पतालले निःशुल्क उपचारको व्यवस्था गरेको छ । अपांग तथा महिलालाई पनि अवस्था हेरेर शुल्क छुटको व्यवस्था गरिएको छ ।

समाजेवी उत्तम संजेलले संचालन गरेको यो अस्पतालको उद्देश्य पैसा नभएर कसैले रोग च्यापेर बस्नु नपरोस भन्ने हो । गत वर्षबाट संचालनमा आएको यो अस्पतालमा दैनिक कम्तिमा २६ सय जना बिरामी सेवा दिन आउने गरेको अस्पतालले जनाएको छ ।