कडा शिक्षा नीति आउँदै

इटहरी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्र्रेलले देशका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनका लागि सरकारले प्रभावकारी शिक्षा नीति ल्याउने गृहकार्य गरिरहेको बताएका छन् ।

इटहरीस्थित जनता बहुमुखी क्याम्पस, प्रजातान्त्रिक प्राध्यापक सङ्घले मंगलबार आयोजना गरेको ‘प्रादेशिक विश्वविद्यालय अवधारण’ विषयक एकदिने गोष्ठीको उद्घाटन गर्दै उनले प्रभावकारी शिक्षा नीति ल्याउन सरकारले आयोग बनाएर काम गरिरहेको जानकारी दिए ।

मन्त्री पोख्रलले हरेक प्रदेशमा कस्तो प्रकारको प्रादेशिक विश्वविद्यालय जरुरी छ भन्ने विषयमा गहन अध्ययन हुनु जरुरी रहेको उल्लेख गर्दै शिक्षा क्षेत्रलाई देशको उत्पादनसँग जोडेर उच्च दक्ष जनशक्ति उत्पादन गर्नेतर्फ सरकार अग्रसर रहेको धारणा व्यक्त गरे ।

शिक्षा क्षेत्रलाई राज्य निर्माणसँगै जोडेर हेर्न जरुरी छ भन्दै उनले आमूल परिवर्तनकारी शिक्षा नीतिको तर्जुमा गर्न सरकारले आयोग बनाएको हुँदा यसमा इमान्दारीपूर्वक सुझाव दिन शिक्षाविज्ञसंग आग्रह गरे ।