विभाग गठनमा किन जुटेन कांग्रेसमा सहमति

काठमाडौं । नेपाली कांग्रेसको अधिवेशन भएको तीन वर्ष बित्दासमेत पार्टी सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्षबीच विभाग गठनमा सहमति जुट्न सकेको छैन। सभापति देउवाले विभाग गठनमा सहमति खोज्दै पार्टी पदाधिकारी र पूर्वपदाधिकारीसँग सोमबार छलफल गरे पनि नेताहरू निष्कर्षमा पुग्न नसकेका हुन्। आफ्नै निवास बूढानीलकण्ठमा आयोजना गरेको छलफलमा विभाग र त्यसको संख्यामा नेताहरूबीच सहमति जुट्न नसकेको हो। केही दिनपछि फेरि बस्ने बैठकबाट विभाग गठनमा सहमति खोज्ने भन्दै त्यसै उठेका नेताले छलफलको क्रममा आ–आफ्ना अडान राखेका थिए।

सभापति देउवाले विभागहरू गठन गर्न ढिला भइसकेको जनाउँदै नाम दिन नेता रामचन्द्र पौडेललाई आग्रह गरेका थिए। आपूmले नेतृत्व सम्हालेदेखि नै नाम माग्दै आएको सुनाउँदै देउवाले विभाग गठनको अधिकार सभापतिलाई भए पनि सहमतिबाटै अघि बढ्न खोजेको दाबी गरेका थिए। ‘मैले डे वानबाटै नाम मागेको हुँ, तर अहिलेसम्म नाम आएन,’ देउवालाई उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘मिलाएर लैजान तयार छु। तर अब धेरै दिन पर्खन सकिँदैन।’ सहमतिमा अघि बढ्न विगतमा जस्तै ६०/४० को आधारमा विभाग गठन गर्न पनि तयार रहेको संकेत गरेका देउवाले कार्यसम्पादन समितिभन्दा पहिला विभाग गठन गर्ने प्रस्ताव गरेका थिए। समिति गठन गर्न केन्द्रीय समिति चाहिने भन्दै वैशाख पहिलो र दोस्रो साता आफ्नो र नेता पौडेलको उपत्यका बाहिरको कार्यक्रम रहेकाले त्यसबीचमा विभाग गठन गर्नुपर्ने धारणा राखेका थिए। | आजको नागरिक दैनिकमा खबर छ ।