ओली–नेपाल तानातान एकतामा गाँठो

काठमाडौं । पार्टी एकीकरणबारे प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको अनौपचारिक सहमतिमा माधव नेपाल समूहले कडा आपत्ति जनाएपछि नेकपाको एकता प्रक्रियामा गाँठो परेको छ ।

जिल्ला कमिटीको नेतृत्व सुम्पने कुरामा पूर्वएमालेभित्रका ओली र नेपाल समूहबीच विवाद चर्केको हो । दुवै अध्यक्षले दिनहुँ कुराकानी गरिरहे पनि सहमति जुट्न सकेको छैन ।

नेपाल समूहले अहिले प्रस्तावित नाम जस्ताको तस्तै अनुमोदन गर्न खोजिए समानान्तर कमिटी बनाउनेसम्मको चेतावनी दिएपछि अध्यक्ष ओली र दाहाल झस्किएका छन् । मापदण्ड तय गरेर त्यसैका आधारमा व्यक्ति छनोट हुनुपर्ने नेपाल समूहको अडान छ ।

विगतमा एमालेको कार्यसमिति निर्वाचित भएकाले त्यसैको नेतृत्वलाई मान्यता दिनुपर्ने उक्त पक्षको धारणा हो । ‘अधिवेशनहरूबाट निर्वाचितलाई पाखा लगाउनु हुँदैन । जो वरिष्ठ छ त्यसैलाई राख्दै जानुपर्छ,’ नेपालनिकट स्थायी समिति सदस्य वेदुराम भुसालले भने, ‘एउटै मापदण्डका आधारमा कमिटीहरू बनाउनुपर्छ ।’ आजको कान्‍तिपुर दैनिकमा खबर छ ।