चेल्सीको जितमा हाजार्ड नायक

एजेन्सी । बेल्जियम स्टार खेलाडी इडेन हाजार्ड नायक बनेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । सोमबार राति भएको खेलमा चेल्सीले वेस्ट ह्यामलाई २–० गोल अन्तरले पराजित गर्दा हाजार्ड नायक बनेका हुन ।

घरेलु मैदान चेल्सीलाई जित दिलाउन खेलमा भएका दुबै गोल हजार्डले गरेका हुन । खेलको २४ औ मिनेटमा हाजार्डले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा १–० गोलको अग्रता लिएको चेलसीका लागि हजार्डले दोस्रो हाफमा थप एक गोल गरेका हुन् । उनले खेलको अन्तिम मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–० को जित दिलाए ।

जितसँगै चेल्सी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । ३३ खेल खेलेको चेल्सीको ६६ अंक छ । समान खेल खेलेको वेस्ट ह्याम ४२ अंक सहित तालिकाको ११ औ स्थानमा छ ।