कर्मचारीले पाएनन् छ महीनाको तलब

पारिवारिक खर्च धान्न समेत समस्या

हेटौंडा । प्रदेश नं ३ अन्तर्गतका जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारीले छ महीनादेखिको तलब पाएका छैनन् । यस प्रदेशअन्तर्गतका १३ जिल्लाका कार्यालय प्रमुखसहित यहाँका कर्मचारीले तलब सुविधा नपाउँदा पारिवारिक खर्च धान्न समेत समस्या परेको कर्मचारीको गुनासो छ ।

सङ्घीय सरकारले प्रदेश सरकारमा जनस्वास्थ्यका कर्मचारीलाई हस्तान्तरण गरेपछि प्रदेश सरकारले तलब सुविधा दिनुपर्ने व्यवस्था भए पनि उनीहरुले तलब छ महीनादेखि नपाएपछि आक्रोश व्यक्त गरेका हुन् ।

१३ जिल्लाकै जनस्वास्थ्यका कर्मचारीले ३ नं प्रदेशका मुख्यमन्त्री, सामाजिक विकासमन्त्री तथा कोष तथा लेखा नियन्त्रकको कार्यालयमा पुगेर तलब सुविधा माग गरे पनि कुनै सुनवाइ नभएको कर्मचारीले बताए । जनस्वास्थ्य कार्यालय हेटौँडाका प्रमुख शशीकान्त सिंहले सम्बन्धित निकायमा पटकपटक जानकारी गराउँदा पनि कर्मचारीले तलब नपाएको बताए ।

यसैबीच प्रदेश नं ३ का ३६८ वटा वडामा स्वास्थ्य संस्था नरहेको बताइएको छ । प्रदेशमा जम्मा एक हजार १२२ वटा वडामध्ये ७५४ वटा वडामा मात्रै स्वास्थ्य संस्था छन् ।