खटाएको ठाउँमा नजाने कर्मचारी संघीयता बिरोधी हुन्, त्यस्तालाई छोडिँदैनः मन्त्री पण्डित

अत्तरिया । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारवाही गर्ने चेतावनी दिएका छन् । जिल्ला समन्वय समिति कैलालीले बिहीबार आयोजना गरेको स्वागत तथा अन्तक्रिाय कार्यक्रममा उनले राष्ट्रसेवक भइसकेपछि सरकारले खटाएको ठाउँमा जान नमान्नेलाई कारवाही गरिने बताए ।

राष्ट्रको सेवा गर्न भनी शपथ खाएर आएका कर्मचारीले सरकारले खटाएको ठाउँमा जानैपर्ने भन्दै उनले कर्मचारीले गैरजिम्मेवार बन्न नहुने बताए । कसैलाई समायोजनमा चित्त नबुझेको भए उजुरी गर्न पाइने व्यवस्था रहेको उल्लेख गर्दै उनले भने, ‘गुनासो सुनुवाइ समिति छ, जायज गुनासोमा सम्बोधन हुन्छ ।’

कर्मचारी समायोजनका कारण तीन वटै तहका सरकारका काममा केही अप्ठेरो परिरहेको जानकारी गराउँदै उनले एकअर्काको मर्म बुझेर अघि बढ्न जरुरी रहेको बताए ।

मन्त्री पण्डितलाई कैलालीका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले कामको चटारोको बेला कर्मचारी सरुवाले बजेट कार्यान्वयनमा बाधा पुगेको गुनासो गरेका थिए । उनले राज्यले खटाएको र पठाएको ठाउँमा नजाने कर्मचारी संघीयता बिरोधी भएको बताएका थिए ।