म्याद सकिन लागेका औषधि टेकु अस्पतालद्वारा खरिद

काठमाडाैं । ८५ वर्षअघि सहिद शुक्रराज शास्त्रीका नाममा स्थापना गरिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अहिले आफैँ थला परेको छ । हैजा रोगको उपचार गर्न सुरु भएको यो अस्पताल देशकै एक मात्र सरुवा रोग नियन्त्रण अस्पताल हो । सबै खालका ज्वरो जस्तै– कालाज्वर, टाइफाइड फिबर, डेंगु, जापानिज इन्सेफ्लाइटिस, एचआइभीजस्ता रोगका लागि यो अस्पताल नै प्रमुख हो । देशका कुनाकाप्चाबाट बिरामी रिफर भएर यहाँ आउँछन् । तर, यस्तो महत्वपूर्ण अस्पताललाई सरकारले खासै प्राथमिकतामा राखेको देखिँदैन । अस्पतालमा चिकित्सकहरू नियमित छैनन् भने उपकरण अभावमा गम्भीर रोग लागेका बिरामी निजी अस्पताल जानुपर्ने बाध्यता छ ।

टेकु अस्पतालले २ असोज ०७४ मा वेल हेल्थ केयर प्रालिबाट दुई लाख ६६ हजार रुपैयाँबराबरको एल्लो फेभर भ्याक्सिन खरिद गर्‍यो । तर, भ्याक्सिनको म्याद १७ वैशाख ०७५ सम्म मात्र थियो । अस्पतालले आपूर्तिकर्तासँग गरेको सम्झौताअनुसार खरिद हुने औषधि अस्पतालमा बुझाउँदा कम्तीमा १८ महिनाको म्याद हुनुपर्ने थियो । तर, आठ महिना मात्र म्याद बाँकी रहेको औषधि अस्पतालले स्वीकार गरेको छ । औषधिको आयुले उपचारमा असर पार्ने भन्दै महालेखाले म्याद सकिँदै गरेको यस्तो औषधि खरिदमा नियन्त्रण गर्नुपर्ने सुझाब दिएको छ ।

यस्तै, अस्पतालको फार्मेसीका केही औषधिको म्याद समाप्त भएका थिए । महालेखाका अनुसार करिब ६६ हजारबराबरको म्याद सकिएको औषधि अस्पतालको फार्मेसीमा भेटिएको थियो । यस्तै, सुपर सिभी ६२५ एमजी, बिफिलाक ४८० क्याप्सुल, बिफिलाक ५०० क्याप्सुल र भ्याक्सिग्रिप इन्जेक्सन ५० पिफिएसलगायतका औषधि पनि म्याद सकिने अवस्थामा अस्पतालले खरिद गरेको भेटिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।