देउवाले प्रधानमन्त्रीलाई करप्रसाद ओली भनेपछि…

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई करप्रसाद ओली भनेका छन्। पोखरामा विहीबार आयोजित काँग्रेस कोषाध्यक्षहरुको दुई दिने तेस्रो राष्ट्रिय भेलाको उद्घाटन गर्दै देउवाले भने, ‘सरकारले लगाएको करबाट उद्योगी, व्यापारीहरु त्रसित बनेका छन् । एउटा जिल्लाबाट अर्को जिल्लामा जाँदा पनि कर तिर्नुपरेको छ । उद्योगपतिहरुले पनि भनिसके, प्रधानमन्त्री केपी ओली नभई करप्रसाद ओली हुन् ।’

सरकारले सेनामाथि पनि हस्तक्षेप गर्न खोजेको आरोप लगाउँदै देउवाले त्यो आफूहरुलाई स्वीकार्य नहुने बताए । ‘दुनियाँमा कहीँ प्रधानमन्त्रीले सेना चलाउन पाइन्छ ? दुनियामा कहीँ पनि यस्तो हुँदैन,’ सभापति देउवाले भने, ‘सेना परिचालन गर्ने संयन्त्रको रुपमा सुरक्षा परिषद छदै छ नी ।’

सरकारले प्रेसमाथि अंकुश लगाउन खोजेको आरोप पनि सभापति देउवाले लगाए । उनले सरकारले प्रेसमाथि अंकुश लगाएर अधिनायक बादको बाटोमा हिड्न खोजेको आरोप लगाएका थिए । सरकारको एक वर्षे कार्यकालको समिक्षा गर्दा बहुमत प्राप्त हुँदा हुँदै पनि केही काम गर्न नसकेको बताए । उनले राम्रा काम गर्नुको साटो सरकार कर बढाउने, बलात्कारिलाई संरक्षण गर्ने, भ्रष्टाचारीलाई संरक्षण गर्ने जस्ता कार्यमा व्यस्त भएको दावी गरे । फरक प्रसंगमा बोल्दै देउवाले पार्टीमा अन्तरघात गर्नेहरुलाई कारवाही गरिने बताए ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक परिषदमा प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताको हैसियत समान भएपनि सरकारले निरंकुशवादी शैलीबाट एकतर्फी नियुक्ति गरेको भन्दै आपत्ति जनाए । नेता पौडेलले पार्टीमा क्षमतावान् र योग्य व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने र हाम्रोभन्दा राम्रोलाई रोज्नुपर्ने सुझाव दिए ।