उपचारमा सहयोग गरिदिन रक्त क्यान्सर पीडित पाँच वर्षीय बालिकाको याचना

काठमाडौं । रक्त क्यान्सरबाट पीडित पाँच वर्षीय बालिका उर्वसी केसीको खर्च अभाव भएपछि उपचारमा समस्या भएको छ । दोलखा चरिकोट गाँउपालिका–५ घर भइ काठमाडौं मनमैजु बसोवास गरिरहेकी बालिकाको उपचारमा लाग्ने खर्चको जोहो नहुँदा समस्या भएको परिवारले जनाएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै बिरामीका आफन्तले हालसम्म ३ लाख खर्च भइसकेको र आफुसँग थप खर्च गर्नसक्ने अवस्था नभएको उनीहरुले बताए । छोरीको उपचारमा सहयोग गरिदिन परिवार सदस्यले आग्रह गरेका छन् ।
हाल कान्ति बाल अस्पतालमा अंकोलोजी बिभागमा उपचार गराइरहेकी उनको उपचारमा २२ लाखसम्म खर्च लाग्ने चिकित्सकले भनिसकेको बालिकाकी आमा उर्मिला केसीले जानकारी दिइन् । रोगको पत्ता लगाउन र बोनम्यारो तथा रक्त परीक्षणको लागि भारतमा नमुना संकलन पठाउनुपर्ने भएका कारण आफुहरु खर्च धान्न नसक्ने अवस्थामा पुगेको आफन्तले पीडा पोखे ।

पछिल्लो समय बालिकाको फोक्सो, पेट तथा गाला सुनिँदै आएको र तुरुन्त खर्चको जोहो गर्न सकेमा मात्रै बचाउन सकिने डाक्टरहरुको भनाइ रहेको उनकी आमाले दुःखेसो पोखिन् । ईमेज एकेडेमी मनमैजुमा पढिरहेको छोराले पनि खर्च अभावकै कारण पढाई बिचैमा छोड्नु परेको बालिकाकी आमाले पत्रकार सम्मेलनमा दुःखेसो पोखिन् ।

छोरीलाई बचाउने इच्छा हुँदाहुँदैपनि खर्च अभावमा उपचार गर्न नसकेको भन्दै उनले सरकार र सम्पुर्ण दाताहरुबाट सहयोगको अपेक्षा गरेको बताइन् । अहिलेसम्म बालिकालाई दुईपटक किमो दिइसकेको र पहिलो किमोलगत्तै बालिकाको कपाल खस्न थालेको उनकी आमाले जनाईन् ।

उर्मिला केसीको नाममा रहेको ग्लोवल आइ.एम.ई. बैंक मनमैजु शाखाको खाता नम्बर  D807010001095 मा रकम जम्मा गरेर बालिकाको जीवनरक्षा गरि दिन परिवारले अपिल गरेको छ । मोबाईल नम्बर 9866401358, 9851253216 मा सम्पर्क गरेर बिस्तृत जानकारी लिन सक्ने पनि परिवारको भनाइ छ ।