शितलको चुलोमा अर्गानिक स्वाद

काठमाडौं । व्यवसाय सबैले गर्छ । व्यवसायमा मौलिकताको महत्व हुन्छ । मौलकताले व्यवसायको उचाइ नै फरक बनाइदिन्छ । अरुले के गर्छ ? कसरी गर्छ ? त्यसमा महत्व नदिई आफै केही नयाँ गर्ने आँट गर्नेहरुको महत्व फरक हुन्छ ।

सबैले गरेको काम गर्नुपर्छ भन्ने नत कतै उल्लेख छ, नत त्यसले कतै पुर्याउँछ । अरुले गरेकै काम गर्ने हो भने पनि त्यसको प्रकृतिमा फरकपन दिनु मौलिकता हो ।

आफ्नै मौलिकताले गरिएको कामले व्यवसायिक सफलता मात्र पाउँदैन अरुको लागि उदाहरण पनि बन्न सक्छ । यस्तै उदाहरणिय व्यवसायको पर्याय बनेकी छिन धनकुटामा जन्भिएकी शितल श्रेष्ठ । काठमाडौंको पुरानो बानेश्वर र गौशालाको बीचमा रहेको द््वारिका होटेल अगाडि उनले सञ्चालनमा ल्याएको रेस्टुरेन्ट अहिले चर्चामा मात्रै छैन, धेरैको आकर्षण बनेको छ । २७ वर्षीया शितलको व्यवसायिक कुशलता कतिपयका लागि प्रेरणादायी बनेको छ ।

सुरुका दिनमा उनको सपना मोडेल बन्ने थियो । त्यही सपना संगाल्दै उनी २०६५ सालमा एलएलसी दिएर काठमाडौं आइन् । मोडल बन्ने रहर भए पनि काठमाडौंमा आएपछि त्यो सपना सजिलो रहेनछ भन्ने बुझिन् ।

यहाँ बस्न थालेपछि शुरुको तीन–चार महिना नृत्यको प्रशिक्षण लिइन् । केही म्युजिक भिडियोमा मोडलिङ्ग गरिन् । पचिय फराकिलो बन्दै गायो । आफन्त र साथी सर्कलभन्दा बाहिर पनि उनको परिचय फैलियो । धेरैले उनलाई चिने पनि सफल जिन्दगीको परिचय बनाएर समाजमा उभिने उनको भोक मेटिएन, अनि मोडियो शितलको बाटो ।

हजारौँसंग सहयोग माग्दा एउटाले पनि सहयोग गर्दैन तर एउटा सङ्ग सल्लाह माग्दा सल्लाह दिने हजारौँ भेटिन्छन् । अरुको सल्लाहले तय गरिएको बाटोले गन्तव्य भेटिएला तर यात्रा सहज नहुन सक्छ ।

काठमाडौंमा सुविधा सम्पन्न होटल रेष्टुरेन्ट धेरै भए पनि त्यही व्यवसायलाई फरक तरिकाले गर्ने योजना उनले बुनिन् । उपत्यकाको बत्तिसपुतलीमा सुरु गरिन अर्गानिक चुल्हो ।

करिब दु्ई वर्षमा शितलले स्थापना गरेको अर्गानिक चुल्होले छुट्टै पहिचान बनाएको छ । शान्त वातावरणमा बसेर खाना खान चाहने स्वादका पारखीहरुको यो गतिलो गन्तव्य बनेको छ ।

चुल्हो सन्चालन गरेर उनले व्यवसायिक सफलता मात्र हासिल गरेकी छैनन, पाहुनाको धन्यवादको पात्र पनि बनेकी छिन । आफै पनि कलाकारिता क्षेत्रसंग नजिक भएकोले उनको अर्गानिक चुल्होमा स्वाद लिन आउनेहरुमा कलाकार अलि बढी हुन्छन् ।

फराकिलो स्पेस, हरियाली वातावरण र सुन्दर सजावटमा स्थापना गरिएको अर्गानिक चुल्होमा गीति एल्बम विमोचन, पुस्तक लोकार्पण, चलचित्रको शुभ मुहर्तलगायत पत्रकार सम्मेलन जस्ता कार्यक्रम गर्नेहरु बढी आकर्षित हुने गरेको शितल बताउँछिन् । कतिपय आगन्तुक म्युजिक भिडियो र चलचित्र छायांकन गर्नुपर्दा पनि यहीँ आउने गरेको उनले बताइन् ।

चुल्होमा पारिवारिक वातावरणका साथै सुलभ दरमा खानाको स्वाद चाख्न पाउने कारणले पनि एक पटक यहाँ पुगेका सेवाग्राही दोर्होयाएर आउने गरेको उनले बताइन् । ‘आउनेहरु प्रशंसा गरेरै जान्छन्’, शितलले भनिन्, ‘त्यसकारण पनि हाम्रो चुल्होको चर्चा हुने गरेको छ ।’ सेवा दिन भ्याइ नभ्याइ हुने गरेको उनले सुनाइन् ।

मधुर मुस्कान, मिठो परिकार र मिजासिलो व्यवहार यहाँ आउनेका लागि काकर्षक विषय हो । पाहुनाले घरमा बनाएर खाएको खानाको स्वाद बिर्सिन सक्ने सेवा आफूहरुले प्रदान गरिरहेको जिकिर शितलको छ । अरुभन्दा फरक तरिकाले सेवाग्राहीको मन जित्ने शितलको कला अर्गानिक चुल्होको अर्को विशेषता हो ।

पछिल्लो समय राजनीतिक नेतृत्वमा पनि व्यापक चर्चामा आएको खाना हो मार्सी चामल । सामान्य खाना भन्दा केही फरक मात्र नभै स्वादिलो र स्वास्थ्यको लागि पनि लाभदायक भएकोले यस खानाको चर्चा हुने नै भयो ।

शितलले अर्गानिक चुल्होमा मार्सी चामलको भातलाई मुख्य मेन्युमा राखेकी छिन । राजनीतिक वृत्तमा पछिल्लो समय चर्चामा आएको भए पनि उनको रेष्टुरेन्टमा यो खाना सुरुवातदेखि नै थियो । उनले यो व्यवसाय सुरु गर्दादेखि नै जुम्लादेखि मार्सी चामल मगाएर सेवा प्रवाह गर्दै आएको बताइन् ।

रेस्टुरेन्टमा १३ कर्मचारीलाई प्रत्यक्ष रोजगारी दिएर छोरीमान्छेले पनि धेरै गर्नसक्छन् भन्ने उदाहरण शितलले पेश गरेकी छिन् । पर्याप्त पार्किङ्गको व्यवस्था यहाँको अर्को विशेषता हो । रेस्टुरेन्टमा सेमिनार, पार्टीलगायत बिहान चियादेखि रातिको खानासम्मको व्यवस्था छ ।

रेस्टुरेन्ट बिहान ८ बजेदेखि राति १० बजेसम्म सेवामा रहने गरेको उनले बताइन् । कर्मचारीसँगै आफै पनि खट्नु शितलको विशेषता हो । परिकारको स्वाद र सेवाग्राहीलाई दिने सेवामा कमि नआओस भनेर आफू खट्ने गरेको उनले बताइन् ।

‘यदि फराकिलो सोच राखेर काम गरियो भने जे काममा पनि सफल भइन्छ,’ शितल बताउँछिन्, ‘साँघुरो सोच राखेर काम गर्न खोजियो भने त्यो काममा कहिल्यै अघि बढ्न सकिन्न ।’ काम गर्दा धैर्य हुनु जरुरी हुने शितलको अनुभूति छ । मेहनत, धैर्यता, लगनशिलता र अनुसाशनलाई सिरोपर गरेर सफल जिन्दगी जिउन चाहनेका लागि शितल एक उदाहरण बन्न सक्छिन् ।