राजधानी र नामाकरणको बिरोधमा धनगढीमा आमहड्ताल, डोटी पनि आन्दोलित

काठमाडौं । प्रदेश नम्बर ७ को राजधानी र नामाकरणमा असहमति जनाउँदै बुधबारबाट धनगढीमा बिरोध प्रदर्शन सुरु भएको छ । प्रदेशको नामाकरण र राजधानी प्रस्तावको विरोधमा आज धनगढीमा आम हड्तालको घोषणा गरिएको छ ।

धनगढीबासीले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दैे राजधानी गोदावरीमा राख्ने संसदीय समितिको प्रस्तावप्रति आक्रोस ब्यक्त गर्दै त्यसमा आफुहरुको असहमति रहेको जनाएका छन् । धनगढीमा रहेका संरचनामा करोडौं लगानी गरेपछि राजधानी अन्यत्र सार्ने कुरा गर्नु गलत रहेको उनीहरुको ठहर छ ।

भौतिक पूर्वाधारले सम्पन्न अस्थायी राजधानी धनगढीलाई नै स्थायी राजधानी कायम गर्नुपर्ने उनीहरुको माग छ ।

उक्त मागप्रति प्रदेश सरकार उदासिन भएकाले असोज ११ गते धनगढीमा आम हड्तालको कार्यक्रम गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै प्रदेश ७ को राजधानी र नामाकरण सम्बन्धी असन्तुष्टि जनाउँदै डोटीमा पनि आन्दोलन सुरु भएको छ । बुधवार डोटीमा स्थानीयहरुले घर–घरमा कालो झण्डा टागेर विरोध जनाएका छन् ।

राजधानी र नामाकरणको विरोधमा डोटीमा पनि चरणबद्ध आन्दोलनका कार्यक्रम गरिने भएको छ । आन्दोलनका अगुवा तथा डोटी उद्योग वाणिज्य संघका महासचिव दीपक वहादुर खड्काका अनुसार बिहीबार विरोध ¥याली सहित जिल्ला प्रशासनमा कोण सभा गर्ने, पिपल्ला बजारमा विरोध प्रदर्शन सहित कोणसभा गर्ने र असोज १२ गतेदेखि अनिश्चितकालिन डोटी बन्द गरिने भएको छ ।

यसअघिको क्षेत्रीय सदरमुकाम रहेको दीपायलमा राजधानी हुनुपर्ने माग राख्दै लामो समयदेखि आन्दोलन चलिरहेको छ ।

सांसद तारा लामा तामाङ नेतृत्वको संसदीय समितिले प्रदेश सातको नाम सुदूरपश्चिम र राजधानी कैलालीको गोदावरी नगरपालिकामा राख्न सिफारिस गरेपछि धनगढी वासि र डोटीका जनतामा असन्तुष्टि देखिएको हो ।

संसदमा भने प्रदेश सातको राजधानी र नामबारेमा छलफल भइरहेको छ ।