तोकियो रेडक्रस केन्द्रीय सभाको मिति, सातै प्रदेशको निर्वाचन सम्पन्न

काठमाडौं । नेपाल रेडक्रसको केन्द्रीय सभाको अधिवेशन सुनसरीमा हुने भएको छ । वैशाख २३ देखि २५ सम्म हुने रेडक्रसले जनाएको छ । यसपटक गत विशेष अधिवेशनबाट पारित विधानको व्यवस्था अनुसार हरेक पदहरुमा निर्वाचन गरी केन्द्रीय नेतृत्व चयन हुनेछ ।

यअघि नेपाल रेडक्रस सोसाइटीको प्रदेश स्तरीय समितिहरु चयन भइसकेका छन् । प्रदेश ३ समितिको निर्वाचन शनिवार सम्पन्न भएसँगै सातवटै प्रदेश नेतृत्व चयनको कार्य सम्पन्न भएको छ । ३ नम्बर प्रदेश समितिको नेतृत्वको लागि पहिलो पटक भएको निर्वाचनमा भोलानाथ रुपाखेती अध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रतिद्धन्दी भक्तपुरका कृष्ण लागेजु थिए ।

नुवाकोटका रामजी पौडेल महासचिवमा र कोषाध्यक्षमा सिन्धुपाल्चोकका भरत बस्नेत निर्वाचित भए । प्रदेश सभा कार्यक्रमको ३ नंवर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गरेका थिए ।

३ नम्बर प्रदेशको नेतृत्वसँगै रेडक्रसको सवै प्रदेशले नयाँ नेतृत्व पाएको छ । तीमध्ये प्रदेश १, प्रदेश २, गण्डकी, ५ र ६ नंवर प्रदेशका कार्यसमिति निर्विरोध चयन भएको हो । ३ नंम्बर र सुदूरपश्चिम प्रदेशमा भने निर्वाचनबाट नेतृत्व आएको हो ।

प्रदेश १ को चैत्र २९ गते सम्पन्न निर्वाचनमा धनकुटाका नरेन्द्र पोखरेल प्रदेश समितिको अध्यक्षमा र मोरङका ऋषिकेश कोइराला महासचिवमा निर्विरोध निर्वाचित भएका थिए । त्यस्तै झापाका ओम प्रकाश गौतम कोषाध्यक्ष र झापाकै कृष्ण मैनाली उपमहासचिवमा चयन भए ।

नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेश कार्य समितिको चैत्र २६ गते सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा कञ्चनपुरका केशवदत्त पन्त निर्वाचित भए भने उपाध्यक्षमा जीवन राना, महासचिवमा देव बोहरा र कोषाध्यक्षमा हर्कराज शर्मा चयन भएका थिए ।

नेपाल रेडक्रसको गण्डकी प्रदेशको समितिमा कास्कीका सूर्यप्रसाद ढकाल अध्यक्ष र महासचिवमा बलराम आचार्य निर्विरोध निर्वाचित भए । चैत २२ मा महोत्तरीमा सम्पन्न २ नंबर प्रदेशको सभाले पर्साका फूलमहमद मिँयाको अध्यक्षतामा प्रदेश कार्यसमितिको निर्वाचन गरेको हो । महासचिवमा सिरहाका चन्द्रेश्वर मण्डल र कोषाध्यक्षमा बाराका दिव्यनाथ श्रेष्ठ निर्वाचित भएका थिए ।

चैत्र २० गते ५ नम्बर प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गरेको लुम्बिनीमा सप्पन्न ५ नम्बर प्रदेशको प्रथम प्रदेश अधिबेशनले अर्घाखाँचीका शम्भु पोख्रेललाई अध्यक्ष, रुपन्देहीका कृष्ण पगेनीलाई महासचिवमा र कोषाध्यक्षमा बाँकेका राज कुमार बर्मालाइ निर्वाचित गरेको थियो ।

नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश समितिको अध्यक्षमा दैलेखका भेषबहादुर थापा र महासचिवमा सुर्खेतका कृष्णबहादुर थापा सहित १२ जना पदाधिकारी र सदस्यहरु निर्विरोध भए । निर्वाचित हुनेमा पदाधिकारीमा उपाध्यक्षमा हुम्लाका विजय बुढा, कोषाध्यक्षमा रुकुमका नरबहादुर नेपाली, उपमहासचिवमा जाजरकोटका बीर बहादुर बस्नेत र उपकोषाध्यक्षमा जुम्लाका नन्दलाल रावत छन् ।