काठमाडौंबासीलाई दुई महिनामा मेलम्चीको पानी !

काठमाडौं । काठमाडौं उपत्यकावासीले दुई महीनाको प्रतिक्षापछि मेलम्चीको पानी पिउन पाउने भएका छन् ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीको खानेपानी उपत्यकावासीले लामो प्रतिक्षापछि दुई महीनाभित्र खान पाउने भएका हुन् । मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यराज कँडेलले ६० दिनभित्र उपत्यकामा मेलम्चीको खानेपानी आइपुग्ने बताए ।

कँडेलका अनुसार करीब २५ हजार ८०० मिटरमध्ये १५ हजार ३८७ मिटर सुरुङ (टनेल) निर्माण सम्पन्न भएको छ । त्यसमध्ये १० हजार ५३३ मिटरको अन्तिम चरणको काम भइरहेको छ । दैनिकरुपमा २०० देखि २५० मिटरको दरले टनेलको सो काम भइरहेको छ । पानीको सुरुङको काम ३० देखि ४० दिनमा पूरा हुनेछ । काठमाडौँवासीले मेलम्ची खानेपानीको प्रतिक्षामा १८ वर्ष बिताइसके । खानेपानी आयोजना निर्माण कार्य सन् २००१ देखि शुरु भएको थियो । काम सकिएसँगै उपत्यकावासीले सहजरुपमा खानेपानी पाउने छन् ।

दशैँभित्र पानी उपत्यकामा आउने तयारीका साथ काम भएको भए पनि प्राविधिक कारणले गर्दा तिहारपछि मात्र पानी आउने तयारीका साथ काम भइरहेको बताइएको छ ।

“मेलम्चीको पानी सुन्दरीजलमा रहेका पानी ट्याङ्कीमा ल्याएर खन्याइन्छ, त्यहाँ अहिले साढे आठ करोड लिटर पानी अटाउँछ, ट्याङ्की निर्माण हुँदैछ”, आयोजनका प्रमुख कँडेलले भने, “पहिलो वर्ष १७ करोड लिटर र तीन वर्षपछि ३४ करोड लिटर पानी उपत्यकामा आउँछ ।”

सुन्दरीजलको ट्याङ्कीबाट अन्य स्थानमा रहेका पुरानै ट्याङ्कीमा पानी सङ्कलन गरी घरघरमा वितरण गरिन्छ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानीका विषयको छलफलमा समितिका सांसदलाई आयोजना प्रमुखले सो कुरा बताएका हुन् ।

बैठकमा सांसदहरुले मेलम्चीको पानी काठमाडौँ कहिले आउँछ र उपत्यकावासीले सहज रुपमा खानेपानी खान पाउँछन् भन्ने प्रश्न प्रश्न गरेका थिए ।