सर्वसत्तावाद स्वीकार्य हुँदैनः देउवा

कञ्चनपुरमा नेकपा माओवादी केन्द्रका नेता काँग्रेसमा प्रवेश

कञ्चनपुर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टको सर्वसत्तावादको स्वीकार्य नहुने बताएका छन् । उनले दुईतिहाइको दम्वमा अपनाइएको अतिबादी शैलीको काँग्रेसले प्रतिवाद गर्ने बताए ।

कांग्रेस कञ्चनपुरको जिल्ला सम्मेलन उद्घाटन गर्न पुगेका सभापति देउवाले अबको युग विकास र प्रगतिको युग भएकाले कुनै पनि शक्तिको निरंकुशता नचल्ने बताए ।

कार्यक्रममा तत्कालीन नेकपा माओवादी केन्द्रका एक केन्द्रीय सदस्य कांग्रेसमा प्रवेश गरेका छन् । बैतडीको पुर्चौडी नगरपालिका ५ कुवाकोटका मनोज बिकलाई सभापति देउवाले टिका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्यसमेत रहेका बिकले देउवाको हातबाट टिका लगाएर आफूले नेकपा परित्याग गरेको घोषणा गरे ।

काँग्रेस प्रवेश गर्दै बिकले नेकपाको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे । उनले सत्तामा पुगिसकेपछि कम्युनिष्ट जनताको इच्छा आकांक्षाभन्दा पनि व्यक्तिगत स्वार्थमा लागेकाले आफू सोही पार्टीमा रमिते भएर बस्न नसकेको बताए । जिल्ला सम्मेलनमा काँग्रेसका नेता रमेश लेखक, एनपी साउदलगायतको उपस्थिति थियो ।