जोखिमपूर्ण रोग परीक्षण गर्ने देशकै एक मात्र ल्याब प्रयोगविहीन

काठमाडाैं । विश्वमै खतरनाक मानिएका भाइरसले निम्त्याउने जोखिमपूर्ण रोग परीक्षणका लागि नौ वर्षअघि स्थापना गरिएको देशकै एक मात्र उच्चस्तरीय ल्याब प्रयोगविहीन बनेको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सन् २०१० मा विश्व बैंकको सहयोगमा स्थापना भएको बायो सेफ्टी लेभल थ्री (बिएसएल थ्री) ल्याब प्राविधिक कर्मचारीको अभावमा नियमित सञ्चालन हुन नसकेको हो ।

प्रयोगशालाका उपनिर्देशक डा. विष्णुप्रसाद उपाध्यायले जोखिमजन्य रोग देखा पर्न थालेपछि प्रयोगशालाको स्थापना गरिएको, तर दक्ष तथा अनुभवी कर्मचारीको अभावमा नियमित सञ्चालन गर्न नसकिएको बताए । श्वासप्रश्वाससम्बन्धी रोग फैलाउने सार्स भाइरस, इन्फ्लुएन्जा (फ्लु), इबोला, टोगाभाइरस, हेजमोराइज फिभर, निफा, क्यु फिभर, प्लेगलगायतको नमुना परीक्षणका लागि ल्याब स्थापना गरिएको हो । सन् २०१५ मा विश्व स्वास्थ्य संगठनले समेत ल्याब प्रमाणीकरण गरिसकेको छ । ल्याबको उपकरणमा मात्रै चार करोड ५० लाख खर्च भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।