एचआइभीले उजाडिएको जिन्दगी

विमलबहादुर विष्ट/डोटी – ‘चरीले राएन हो कि लेग काफल पाक्दा
न घरबारी न जिन्दगी एड्स रोग लाग्दा’

‘वनमा डुल्ने चरीले चैत, वैशाखमा काफल पाकेको थाहा नपाउँदा भोकै बस्नुपरेको र आफूलाई एचआइभी लागेको थाहा नपाउँदा जीवनमरणको दोसाँधमा पुगेको’ जस्ता दुःखका गीत गाएर दिन बिताउन बाध्य भएकी छन् डोटी जोरायल गाउँपालिकाकी एचआइभी सङ्क्रमित एक महिला ।

एचआइभी एड्सकै कारण उनले २४ वर्षको कलिलो उमेरमा आफ्ना पति मात्रै गुमाएकी छैनन्, स्कूलमा छोराछोरी पढ्न पठाउन पनि सकिरहेकी छैनन् । जिन्दगीदेखि हार खाएर वाक्क भएको बताउने उनी श्रीमान् बितेपछि हातमुख जोर्न पनि धौधौ परेको बताउँछिन् । उनी भन्छिन्, “दुःखी, गरीब, असहायका त भगवान् हुन्छन् भन्छन्, मेरा त भगवान् पनि आफना भएनन् ।” आठ वर्षकी एक छोरी र छ वर्षको एक छोरा पढाउनका लागि उहाँले सयौँ दुःखकष्ट गरे पनि सफल हुनसकेको छैन । कयौँ मोड र घुम्तीसँग जम्काभेट गर्दै अगाडि बढ्दा उनले अनगिन्ती ठेस भोग्नुका साथै थुप्रै हण्डर खाएकी छन् । उनलाई शरीरमा एड्स (बम्बैया रोग) लागेको करीब चार वर्ष भइसकेको छ ।

सुदूरपश्चिम प्रदेशमा एचआइभी एड्सलाई बम्बैया रोग भन्ने चलन छ । श्रीमान् दीर्घबहादुर भारतमा काम गर्दागर्दै बिरामी परेर गाउँ फर्केको सात महीनापछि ओछ्यानमा परे । श्रीमान्ले आफूलाई टिबी भएको भन्दै औषधि खान्थे । मरेपछि गाउँलेले ‘भाइयौ यसको लोग्ने त एड्स लागि मर्याको हो’ भनेपछि बल्ल उनले थाहा पाउइन् श्रीमानलाई एचआइभी/एड्स लागेको कुरा । लोग्नेलाई पहिले नै एचआइभी एड्स भएको रहेछ । अन्जान तथा निर्दोष उहाँलाई श्रीमानले एचआइभी थमाइदिए । तर उनका छोराछोरीमा भने यो रोग नदेखिएको बताइएको छ ।

गाउँमा उनीलाई एचआइभी छ भन्ने हल्ला फैलिएपछि गाउँलेले भन्नथाले, ‘यइले पनि दुनियाँको रोग सारी ।’ आफनो श्रीमान् बितेको करीब एक वर्षसम्म गाउँगाउँमा मागेर आफ्ना केटाकेटी पालेकी उनले आफूलाई एड्स भएको थाहा पाएको पनि लामो समय भइसकेको बताइन् । समाजको अपहेलनाका कारण उनी गाँउबाटै विस्थापित हुन बाध्य भइन् । उनको जीवनमा दुःखको महाभारतबाहेक केही पनि जुटेन । उनले आशा गरेको र पर्खिएको भनेको अब मृत्यु नै हो । मृत्यु पर्खंदै हातका बाहुलाले आँशु पुछेर भए पनि उनले दुई छोराछोरीलाई लतार्दै यहाँसम्म ल्याएको दुखेसो पोखिन् ।

गाउँबाट विस्थापित भएसँगै उनको जिन्दगीका पाइला टेक्ने एक टुक्रा जमीन र टाउको लुकाउने झुप्रो घर पनि खोसियो । उनको घरमा जस्तै डोटीका धेरैजसो गाउँबाट भारतका मुम्बइ र दिल्लीमा काम गर्न जाने पुरुषले घर फर्कंदा परिवारमा नासोस्वरुप एचआइभी ल्याइदिने गरेका छन् । रोजगारीका लागि भारत गएर आउनेले ल्याएको एचआइभी एड्सले सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटी एड्स बढी भएको दोस्रो पहाडी जिल्लामध्येमा गनिन्छ ।

सिकारीको तिर लागेर घाइते भएको मृगजस्तै डोटी पनि एचआइभी रोगको ओछ्यानमा दिनानुदिन थला पर्न थालेको छ । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा एचआइभी एड्स घट्नुको साटो दिनानुदिन बढिरहेको सो क्षेत्रमा काम गर्ने सङ्घसंस्थाको तत्थ्याङ्कमा उल्लेख छ । यहाँका एचआइभी सङ्क्रमितहरु गाउँमा बहिस्कृत छन्, अपहेलित छन् ।

उनका छोराछोरी साथीसँग खेल्न गाउँमा यताउता जाने गर्दैनन् । साथीसँगीले पनि ‘बम्बैयाको सन्तान आयो (एड्स आयो)’ भन्ने गरेका कारण उनीहरु साथीसँगीसँग खुलेर बोल्न र हिँड्न नसक्ने गरेको दुखेसो पोख्दै उनी भन्छन्, “जङ्गल (लेक)मा काफल पाकेको चरीले नचिन्दा भोकै बस्नुपरेको र समयमै श्रीमान्लाई लागेको एचआइभी नचिन्दा आफनो यस्तो अवस्था भयो, त्यसैले बिलौनाका गीत गाएर बस्न बाध्य छु ।” आफूलाई जस्तो अरुलाई नपरोस् भन्दै भगवान्सँग प्रार्थना गर्ने र गीत गाउने गरेको समेत उनी बताउँंछिन् ।

एचआइभी एड्स सङ्क्रमितका क्षेत्रमा कार्यरत संस्था सामुदायिक विकास मञ्चका अनुसार डोटीमा खुलेका मात्रै ९८० एचआइभी एड्सबाट सङ्क्रमित छन् भने नखुलेकाहरु अझै धेरै हुनसक्छन् । अहिले डोटीमा एचआइभी एड्स सङ्क्रमितका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न गैरसरकारी संस्था सक्रिय रहेका छन् । जिल्लामा एचआइभी रोकिनुको साटो दिनानुदिन बढिरहेको पाइएको छ । यहाँको एचआइभी रोकथामका लागि प्रदेश सरकारले ठोस कदम चाल्नुपर्ने स्थानीयवासीको माग छ । रासस