सरकार प्राज्ञिक क्षेत्रमा हस्तक्षेप गर्दैछ, काँग्रेस चुप लागेर बस्दैनः देउवा

काँग्रेसमा देउवाको विकल्प तयार भएको छैनः साउद

कैलाली । वर्तमान सरकार जताततै हस्तक्षेपकारी बन्दै गएकोप्रति नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले असन्तुष्टि जनाएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान वामपन्थी सरकारले सुदूरपश्चिम विश्वविद्यालयमा हस्तक्षेप गरेर प्राज्ञिक क्षेत्रलाई पनि प्रभावमा पार्न खोजेको बताए ।

नेपाली काँगे्रस कैलाली क्षेत्र नम्बर १ ले निर्माण गरेको विपी स्मृति भवनको उद्घाटन गर्दै आज टिकापुरमा देउवाले भने, ‘प्राज्ञिक स्वतन्त्रतामा सरकारले हमला गरेको छ, प्रेस स्वतन्त्रलाई विभिन्न बहानामा दबाउने कोसिस भएको छ, प्राकृतिक स्रोत र साधनमाथि दोहन मात्र होइन सरकारी सम्पत्तिमाथि पनि वर्तमान सरकारको नजर परेको छ, काँग्रेस चुप लागेर बस्दैन ।’ उनले सरकारको अकर्मन्यताकाबिरुद्ध काँग्रेस आन्दोलनमा जाने समेत उद्घोष गरे ।

कैलालीको क्षेत्र नम्बर एकमा रानी–जमरा–कुलरिया सिँचाइ आयोजना, हुलाँकी सडक र पूर्वपश्चिम राजमार्गको सुविधा भएकाले यस क्षेत्रको विकास धेरै नजिक भएको बताए । आफू प्रधानमन्त्री हुँदा सुदूरपश्चिमको विकास तीव्र भएको जिकिर गर्दै उनले फेरि प्रधानमन्त्री बने पश्चिम सेती, कर्णाली र कालीमा पनि जलविद्युत आयोजना बताउने बताए । यहाँ बन्ने आयोजनामा यहीँका जनताको लगानी र लाभ पनि यहीँका जनतालाई दिइने उनले बताए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साउदले काँग्रेसलाई बहुमतको सरकारमा नपुर्याएसम्म पार्टीबाट सभापति शेरबहादुर देउवाको विदाई नहुने बताए । उनले आजै पार्टीमा देउवाको विकल्प पनि नभएको जिकिर गरे । पार्टीका विषयमा बोल्दै साउदले भने, ‘केन्द्रीय सदस्य महाधिवेशन प्रतिनिधि हुने वैधानिक व्यवस्था गिरीजाप्रसाद कोइरालाकै पालादेखि हो । महासमिति बैठकमा त्यस्तो प्रस्ताव पनि आएन । अहिले महाधिवेशन प्रतिनिधि बुथबाटै निर्वाचित भएर आउनुपर्ने मागको कुनै अर्थ छैन ।’