काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले ऐतिहासिक संरचना, पर्यटकीय गन्तव्यहरुको विकास, स्थानीय उत्पादनको बजारीकरण, कला संस्कृतिको प्रचारप्रसारको निम्ति महोत्सवले ठूलो भूमिका खेल्ने बताएका छन् ।
आइतबार चौथो बज्रयोगिनी मणिचुड पर्यटन महोत्सव ०७६ मा बोल्दै मन्त्री पण्डितले यसका लागि नगरपालिकाले ठूलो भूमिका हुने विचार व्यक्त गरे । ‘यो पर्यटनका लागि सम्भावना बोकेको ठाउँ हो,’ उनले भने, ‘मेरो मन्त्रालयमार्फत पनि सहयोग गर्नेछु ।’
संघीय सांसद रामेश्वर फुयाँलले यो मणिचुड उपत्यकाको नजिक रहेर पनि पर्यटनको लागि ठूलो सम्भावना रहेको बताए । यहाँ विविध खालका जडीबुटि, लालीगुराँस र हिमालको दृश्यलगायतले पर्यटनको मन लोभाउने उनले बताए ।
यसैगरी नगरप्रमुख सुवर्ण श्रेष्ठले यो महोत्सव पिकनिकको स्वरुपबाट सुरुवात भएको बताए । शंखरापुरको धार्मिक पर्यटकको लागि यो बज्रयोगिनी मणिचुड उत्तम थलो भएको बताए । यसको लागि नगरबाट ५० लाख विनियोजित गरेको उनले बताए ।
उपमेयर शुक्रलक्ष्मी श्रेष्ठले कृषि, पर्यटन अगाडि बढाउन यो महोत्सवले ठूलो भुमिका खेल्ने बताइन् । घुमारचोकमा ६५ फिट अग्लो बुद्धको मूर्ति प्रतिस्थापनाका लागि मन्त्री पण्डितले शिलान्यस गरेका थिए ।