मगर समुदायको योगदान महत्वपूर्णः देउवा

धनगढी । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको राजनीतिक परिवर्तनमा मगर समुदायको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।

नेपाल मगर सङ्घको आज धनगढीमा भएको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री देउवाले पार्टीको संशोधित विधानअनुसार मगरलगायत सबै वर्ग र समुदायको उचित प्रतिनिधित्व गराउने गरी काङ्ग्रेस पार्टी अगाडि बढ्न लागेको बताए ।

प्रेस क्षेत्रमाथिको आक्रमण लोकतान्त्रिक व्यवस्थामाथिकै आक्रमण भएको भन्दै उनले प्रेसमाथिको आक्रमण काङ्ग्रेसलाई सह्य नहुने बताए । उनले सरकारले पत्रकारितामाथि हस्तक्षेप गरेर निरङ्कुशता लाद्न खोजिरहेको आरोप लगाए ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एनपी साउदले वर्तमान सरकार आफ्नै गतिविधिका कारण जनताका नजरमा असफल भइसकेको दाबी गरे । कार्यक्रममा काङ्ग्रेसका अर्का केन्द्रीय सदस्य रमेश लेखकले कार्यकर्तामा जागरण ल्याउनुपर्नेमा जोड दिए । दुईदिने प्रशिक्षणमा दुई सय प्रतिनिधि सहभागी छन् ।