माधव नेपालको प्रस्तावमा ओली लचिलो

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली साबिकको कमिटीबाट वरिष्ठताका आधारमा जिल्ला नेतृत्वको सूची टुंग्याउन लचक भएका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल मापदण्डविना जिल्ला नेतृत्व टुंग्याउन नहुने अडानबाट पछि नहटेपछि ओली लचिलो बनेका हुन् । अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले एकता प्रक्रियाबारे बुधबार नेता नेपालसँग छलफल गरेका हुन् ।

यसअघि उनीहरूले अरू नेतासँग पनि छलफल गरेका थिए । स्रोतका अनुसार छलफलमा अध्यक्ष ओलीले आफू वरिष्ठताको मापदण्डबाटै नेतृत्व टुंग्याउन तयार रहेको, तर सबै जिल्लामा एउटै मापदण्ड लागू गर्न भने नसक्ने प्रस्ताव गरेका छन् । सबै पक्षलाई विचार गरेर निर्णय गर्नुपर्ने उनको प्रस्ताव छ । सबै जिल्लामा साबिक कमिटीमा रहेकामध्येबाट वरिष्ठलाई नेतृत्व दिनुपर्ने नेपालको अडान सम्बोधन गर्ने गरी एक दर्जनजति जिल्लामा उनीनिकटलाई अध्यक्ष÷सचिव बनाउन ओली लचिलो बनेको स्रोतले बतायो । पूर्वएमालेले ४५ र माओवादीले ३२ जिल्लाको नेतृत्व लिने समझदारी भइसके पनि ओली र नेपालबीच पूर्वएमालेले लिने जिल्ला नेतृत्वमा भागबन्डा मिलेको छैन ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने केन्द्रीय सचिवालयले यसअघि पारित गरेको मापदण्डमाथि पुनर्विचार गरेर नयाँ मापदण्डका आधारमा टुंगो लगाउन सकिने धारणा राखेका छन् । राजकीय मामिला र जनप्रतिनिधिको जिम्मेवारीमा रहेकालाई पार्टीमा कार्यकारी जिम्मेवारी दिन नसकिने सचिवालयको निर्णयमा पुनर्विचार गर्दै आवश्यक पर्दा उनीहरूलाई पनि समेट्न सकिने गरी नयाँ मापदण्ड बनाउन सकिने प्रचण्डको प्रस्ताव छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।