दरौंदी फर्काएरै दोहन

गोरखा । दरौंदी नदीमा जिल्ला समन्वय समितिकै निर्देशनमा मापदण्ड मिचेर उत्खनन भइरहेको छ । क्रसर सञ्चालकहरूले खोलाको धार फर्काएर जेसीबीमार्फत ढुंगागिट्टी संकलन गरिरहेका छन् ।

क्रसर सञ्चालक र निर्माण व्यवसायीको दबाबमा जिससले चुमनुब्री गाउँपालिकाबाहेक १० स्थानीय तहलाई चैत २५ मा मेसिनमार्फत नै उत्खनन गर्न दिन पत्र पठाएको थियो । आईई प्रतिवेदनमा खोलाको धार परिवर्तन गर्न र मेसिनमार्फत उत्खनन गर्न नपाइने उल्लेख छ ।

‘खोला फर्काउने त सामान्य भयो, हामी लोकलले एउटा ढुंगा घर लान्छु भन्दा पनि पाइन छाड्यो,’ सिरानचोक–४ चोरकाटेका धनबहादुर कुमालले भने, ‘बिहान ६ देखि राति ९ बजेसम्मै जेसीबी र टिपर यत्तिकै हुन्, मनलाग्दी उत्खननले खेतमा पानी लाग्न छाडेको छ ।’

सोमबार मात्र ३० भन्दा बढी जेसीबी र सयवटा टिपर दरौंदीमा थिए । ‘हामी साना मान्छेको कुरा कसैले सुन्दैन, बल्ल–बल्ल बाँध बाँधेर खेतमा पानी लग्यो, खोला खोतलेर अर्को वर्ष उस्तै हुन्छ,’ सुशीला कुमालले भनिन्, ‘पोहोर पनि पानी नपाएर धान राम्रो फलेन ।’ आजको कान्‍तिपुर दैनिकमा खबर छ ।