धनगढीको आन्दोलनमा घ्यू थप्दै राज्य, सांसदहरु चोरबाटो समात्दै

धनगढी । प्रदेश ७ को राजधानी र नामाकरणका विषयमा असहमति जनाउँदै धनगढीमा सुरु भएको आन्दोलन उग्र बन्दै गएको छ ।  गलत नियतले गोदावरीमा राजधानी राख्ने निर्णयका विरुद्ध असहमति जनाउँदै आम नागरिकले आन्दोलन गरिरहेका बेला सुरक्षा निकायले भने आक्रोसमा घ्यू थप्ने काम गरेको आन्दोलनरत पक्षले जनाएको छ ।

नामारण र राजधानी तोकिएको विषयमा प्रदेशसभा भवनमा प्रदेश सांसदलाई रोक लगाएका छन् । सांसदहरु मुल सडकबाट सांसद भवनमा प्रवेश गर्न नपाएपछि उनीहरु कतिपयले वैकल्पिक रुपमा लुकेर पछाडिएको बाटो प्रयोग गरेको बताइएको छ । आन्दोलनकारीले धनगढी बजार र सडकमा आन्दोलन चर्काएपछि जिल्ला प्रहरी कार्यालयका एसपी विनोद घिमिरेले आन्दोलनकारीलाई अपशब्द प्रयोग गरेको आन्दोलनरत पक्षको आरोप छ । एसपी घिमिरेको व्यवहारले आन्दोलनलाई थप उग्रता दिने काम गरेको उनीहरुको आरोप छ ।

गोदावरीमा रहेको वनसम्पदामा तस्करको आँखा गाडिएकाले त्यसको प्रभावमा परेर गोदावरीमा पूर्वाधारको शून्यतामै राजधानी तोकिएको भन्दै बुधबारबाट सडक आन्दोलन सुरु भएको हो । पूर्वाधारका हिसाबले धनगढी या डोटी उपयुक्त भए पनि कतैबाट गलत नियतले प्रेतिर भएर राजधानी गोदावरी तोक्ने काम भएको आन्दोलनको अगुवाई गरिरहेकामध्येका एक हरी रेग्मीले अक्षरपाटीसंग प्रतिक्रिया दिए ।
‘पूर्वाधारका हिसाबले राजधानीका लागि कि त अस्थाई राजधानी धनगढीलाई स्थायी बनाउन सकिन्थ्यो, या त डोटी उपयुक्त थियो’  रेग्मीले भने, ‘एकाएक जंगल क्षेत्रमा राजधानी तोकिनुको पछाडि नियत सफा छैन भन्ने हाम्रो ठहर हो ।’