लुक्ला डरलाग्दा १० विमानस्थलमध्ये एक

सोलुखुम्बु । वैशाख १ गते बिहान तेन्जिङ हिलारी विमानस्थल लुक्लाबाट पर्यटक लिन रामेछापको मन्थलीतर्फ उड्न लागेको समिट एयरको विमान धावनमार्गबाट अनियन्त्रित हुँदै हेलिपार्किङमा रहेको मनाङ एयरको हेलिकोप्टरमा ठोक्किएर तीन जनाको मृत्यु भएको घटनाले सरोकारवालाहरू झस्किएका छन्। सरोकारवालाहरूले यसको विकल्पको खोजी पनि थालेका छन्।

समुद्री सतहबाट दुई हजार आठ सय मिटरको उचाइमा रहेको, पाँच सय २७ मिटर लम्बाइ र २० मिटर चौडाइ भएको लुक्ला विमानस्थलको धावनमार्ग अन्य विमानस्थलभन्दा छोटो भएकाले उडान र अवतरण दुवै कठिन हुने हवाईविज्ञहरू बताउने गर्छन्।

अन्तिम अवस्थामा अवतरण सुरक्षित नमानिए लुक्ला विमानस्थलमा विमानलाई सिधा अगाडि वा दायाँबायाँ मोड्न नसकिने हवाईसम्बन्धी जानकारहरूको भनाइ छ। नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख इमनाथ अधिकारीले विमान अवतरणका बेला कारणवश मानिस, कुकुर, स्याललगायतका कारण धावनमार्गमा समस्या देखिए ‘गो–अराउन्ड’ गर्न सम्भव नहुने बताए। उनले भने, ‘त्यस्तो बेलामा अरू कुनै विकल्प छैन।’ आजको नागरिक दैनिकमा खबर छ ।