प्रतिपक्षको बहिष्कारकाबीच प्रदेश ७ को नाम र राजधानी तय, चाडबाडको मुखमा सुदूरपश्चिम असान्त हुने संकेत

धनगढी । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) र आम नागरिकको आपत्तिका बावजुद प्रदेश नम्बर ७ को नाम र राजधानी राख्नेबारे प्रस्ताव पारित भएको छ ।

गोदावरीमा राजधानी राख्ने र नाम सुदूरपश्चिम प्रदेश राख्ने विषयमा ब्यापक असन्तुष्टि बढेको छ । विरोध, नाराजुलुस र असन्तुष्टिकाबीच नेपाल कम्युनिस्ट पार्टीका सांसदहरुले आज बसेको प्रदेश सभा बैठकमा नाम र प्रदेश राजधानीका पक्षमा मतदान गरेका हुन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राजपाको बहिष्कारका बाबजुद पनि प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरी नै तोकिएको छ । उक्त प्रस्ताव संसदमा निर्णयार्थ प्रस्तुत गरिएपछि बहुमतका लागि ३६ मत आवश्यक रहेकोमा ३८ जना प्रदेश सभा सदस्यहरुले पक्षमा मत गरेका थिए ।

सुदूरपश्चिम असान्त हुने संकेत


आम नागरिक, प्रतिपक्षी दललगायतको असहमति, बिरोध र आन्दोलनका बीच प्रदेश सभाले गरेको निर्णय महंगो पर्ने संकेत देखिएको छ । प्रदेश ७ को राजधानी र नामाकरण संघर्ष समितिले अव्यवहारिक तथा जनभावना विपरित भएको ठहर गरेको छ ।
नागरिक समाज संघर्ष समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बिरोध र बहिस्कारका बीच पनि छलफलै नगरी एकपक्षीय ढंगले नाम र राजधानी गादावरी राख्ने निर्णय गरेको प्रति हाम्रो घोर आपत्ति छ’ भनिएको छ ।

प्रदेशसभाले प्रतिपक्ष र नागरिक समाजको भावना विपरित अलोकतान्त्रिक ढंगले दुई तीहाईको बल मिच्याईँ र दम्भका भरमा बन माफिया र भूमाफियाहरुलाई फाइदा पुग्ने गरी गरिएको निर्णय मान्य नहुने समितिले विज्ञप्तिमा उल्लेख गरेको छ ।

उक्त व्यक्तिवादी निर्णयका विरुघ १३ असोजदेखि अनिश्चितकालीन आमहडतालको घोषणा गरिएको कुरा समितिको विज्ञप्तिमा उल्लेख छ । आमहडताको अवज्ञा गरिए त्यसबाट हुने जुनसुकै क्षति स्वयम् व्यक्ति तथा संस्थाले जिम्मेवारी लिनुपर्ने पनि संघर्ष समितिले जिकिर गरेको छ ।