सरकार जनताको अधिकार खोस्दै छ, पार्टीभित्र  अनुशासन हराउँदै गएको छ: सभापति देउवा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको अधिकार खोस्न खोजेको आरोप लगाएका छन् । काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ५ ले शनिबार आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले प्रजातान्त्रिक हक र अधिकारलाई बेवास्ता गरेर सरकारले काम गरिरहेको बताए ।

‘सेना परिचालन गर्ने अधिकार र राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीको मातहत राखेर वर्तमान सरकारले शासन गर्न खोजेकाले यसविरुद्ध काङ्ग्रेस जाग्नुपर्ने बेला आएको छ”, उनले भने । निर्मला पन्तको हत्यारालाई वर्तमान सरकारले संरक्षण गर्न खोजेको सभापति देउवाको भनाइ थियो ।

पार्टीभित्र  अनुशासन हराउँदै गएको छ तर अब अनुशासनविरुद्ध काम गर्ने जोकोहीलाई कारवाही गरिनेमा जोड दिँदै उनले घरघर गएर पार्टीको सङ्गठन विस्तार गर्न कार्यकर्तालाई निर्देशनसमेत दिए । पार्टीका महामन्त्री डा शशाङ्क कोइरालाले काङ्ग्रेसले आफ्नो शक्ति निर्वाचनमा परिचालन गर्न नसक्दा पराजय भोग्नुपरेको बताए । ‘पार्टीभित्रको गुट उपगुट अन्त्य गरेर यसलाई एकताबद्ध नगरेसम्म काङ्ग्रेस पहिलो पार्टी बन्न सक्दैन’, उनले भने, ‘वर्तमान सरकार सङ्घीयतामा विश्वास गर्दैन विश्वास गर्ने भए प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपथ्र्र्ये ।’

सहमहामन्त्री डा प्रकाशशरण महतले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी पार्टीको सङ्गठन विस्तारमा लाग्नुपर्ने बेला आएको बताए ।

केन्द्रीय सदस्य नरहरि आचार्यले पार्टीभित्रको कार्यशैलीमा जागरण अभियान ल्याउनु जरुरी रहेको बताए । काङ्ग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई र उक्त दलका जिल्लासभापति कृष्ण (सबुज) बानियाँले पार्टी एकजुट भएर अगाडि बढ्नुपर्ने बताए ।