चिकित्सा शिक्षा विधेयक हिउँदे अधिवेशनबाट पारित हुने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संसद्को वर्षे अधिवेशनबाट चिकित्सा शिक्षा विधेयक पारित नभए पनि सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

शिक्षा पत्रकार सञ्जाल (इजोन) को ८ औँ वार्षिक साधारणसभा तथा ५ औँ अधिवेशनको उद्घाटनका क्रममा उनले चिकित्सा विधेयक आउँदो दशैँपछि शुरु हुने हिउँदे अधिवेशनमा पारित गरिने बताए । ‘अहिले हामी संविधानमा उल्लेख गरिएका मौलिक हकसम्बन्धी ऐन बनाउनका लागि व्यस्त भयोैँ’, उनले भने, ‘‘जसले गर्दा चिकित्सा शिक्षा विधेयक पारित हुन सकेन । अब अर्को अधिवेशनमा पारित गराउँछौँ ।’

मन्त्री पोखरेलले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन समाजवादोन्मुख भएको पनि जिकिर गरे । उनले सार्वजनिक शिक्षा सबलीकरणका लागि निजी लगानीकर्तासँग सरकारले समन्वय गर्ने बताउँदै निजी क्षेत्रले दिने शिक्षा नाफाभन्दा सेवामूलक हुनुपर्नेमा जोड दिए ।

सरकारले मुलुकलाई सामाजिक न्यायमा आधारित भएर समृद्ध देश बनाउनका लागि २५ वर्षे रणनीतिसमेत ल्याउन थालेको जानकारी उनले दिए । मन्त्री पोखरेलले विश्वविद्यालयले आधारभूत शिक्षाको चरित्र बदल्नुपर्छ भन्दै यो अनुसन्धान, खोज र नयाँ ज्ञानको साधन बन्नुपर्ने धारणा राखे। उनले नयाँ ल्याउन थालिएको सङ्घीय शिक्षा ऐनमा प्रारम्भिक शिक्षा अभ्यास परिमार्जन गरिने बताए ।