बिरामीलाई दिल्ली दूर

काठमाडौँ । नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचाररत भक्तपुरका डिल्ली भट्टराई दिल्ली–काठमाडौं सिधा उडानबाटै घर फिर्ने योजनामा थिए । हवाई भाडामा अचाक्ली बढेपछि उनी अहिले विकल्प खोज्दै छन् ।

६ महिना लामो उपचारपछि तगिंँदै गरेका उनमा काठमाडौं–दिल्ली बसबाट यात्रा गर्ने आँट छैन । ‘भाडा चर्को रहिरह्यो भने ट्रेनमा गोरखपुरसम्म जान्छु । त्यसपछि भैरहवाबाट जहाजमा जान्छु,’ उनले भने, ‘क्यान्सर रोगीहरूलाई भारतीय रेल्वेले पुरै भाडा छुट दिँदो रहेछ ।’

भक्तपुर कमलविनायकका पुण्य राम पनि त्यस्तै दोधारमा छन् । श्रीमती राधाको उपचारका लागि दिल्ली आएका उनले यही साता काठमाडौं जाने योजना बनाएका थिए । जब हवाई भाडा बढेर एकतर्फी नै १८ हजार भारुभन्दा बढी भएको थाहा पाए, उनी के गर्ने भनेर द्विविधामा छन् । ‘केही दिनका लागि भए पनि जानैपर्ने थियो । तर अहिलेको भाडामा कसरी जाने ?’ रामले भने । बसमा जान सकिन्छ कि भनेर सोधपुछ गरिरहेको उनले बताए । ‘म त बसमा जान सकूँला, बिरामीलाई त्यति लामो बाटो कसरी लाने !’ रामले चिन्ता व्यक्त गरे । आजको कान्तिपुर दैनिकमा खबर छ ।